पहिलोपटक विषादीको मापदण्ड निर्धारण भयो तरकारी र फलफूलमा, अधिकतम मात्रा कति ?

काठमाडौँ / तरकारी र फलफूलमा जीवनाशक विषादी प्रयोगको मात्रा निर्धारण गरिएको छ । पहिलोपटक कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले विषादी प्रयोगको मात्रा निर्धारण गरेको हो ।

विभिन्न ठाउँबाट आयात हुने र स्वदेशभित्र उत्पादन हुने दुवै तरकारी तथा फलफूलका लागि जीवनाशक विषादी अवशेष राजपत्रमै सूचना प्रकाशित गरी मात्रा तोकिएको छ ।

साथै यससम्बन्धी सूचना राजपत्रमा समेत प्रकाशन भएको छ । स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर र चियाको जीवनाशक विषादीको अधिकतम मात्रा निर्धारण गरिएको हो ।

खाद्य प्रविधि तथा गुणस्तर विभागले तरकारी र फलफूल गरेर १० वटा उत्पादनमा विषादीको अधिकतम मात्रा निर्धारण गरेको छ । विभागका अनुसार स्याउमा विषादीको मात्रा ०.०५ मिलिग्रामदेखि ५ मिलिग्राम मात्रा निर्धारण गरिएको छ । यस्तै केरामा विषादीको प्रकार अनुसार ०.०१ देखि १५ मिलिग्राम निर्धारण गरिएको छ ।

तिते करेलामा ०.०५ मिलिग्राम देखि १ मिलिग्राम सम्म तोएिको छ । बन्दामा ०.०५ देखि ७ मिलिग्राम विषादीको अधिकतम मात्रा निर्धारण गरिएको छ । कोभी ०.०५ देखि २ मिलिग्राम, भिन्डी ०.०१ देखि २ सय मिलिग्राम, आलुमा ०.००५ देखि ७ मिलिग्राम निर्धारण गरिएको छ ।

साथै टमाटरमा विषादीको मात्र ०.०५ देखि ५ मिलिग्राम र चियामा ०.७ देखि ४० ग्राम विषादीको मात्रा निर्धारण गरिएको छ ।

सरकारले हालसम्म तरकारी र फलफूलमा विषादी प्रयोगको मात्रासम्बन्धी कुनै व्यवस्था गरेको थिएन । यसअघि पाउरोटी, खाद्यान्न लगायतका प्रशोधित उत्पादनमा मात्र विषादी प्रयोगमा मात्रा निर्धारण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित