कविता : समयसँगका भोगाइहरू

कविता : समयसँगका भोगाइहरू
-मणिराम दाहाल
ओरालो लागेका छन्
जीवनका खुड्किलाहरू
न टेक्ने छ
न समाउने
आफूले बनाएका
जीवनका भारी अडाउने तोक्माहरू
अरूको कब्जामा छन्।।।।

सुन्नलाई कान छ
देख्नलाई आँखाहरू पनि छन्
केही हुँदा चस्स दुख्ने दिल छ
भएर पनि नभए
जस्तो गर्नु परेको छ ।
कहिले नजिकैको दुस्खको पहाड
आफ्नै छातीमा खस्छ
कहिले फूलको धारले रेट्छ
अनि मुस्कान उडेर बालुवामा खस्छ
भएको सबै कुरा गुमाउँदा
अभावहरू सिराने लाग्छन्
हिँड्दै गरेका पैतालाहरू रोकिन्छन्
हिजो बिताएका सुखद् यादहरू
आँखै अगाडि
सम्झना बनेर आउँछन्
अनि फेरि बिलाउँछन्
एकै पलमा जीवन
बत्ती निभेको रात झैँ अन्धकार बन्छ
यसो उज्यालो भर्न खोज्यो
आँधी आएर उडाउँछ ।

रमाइलो क्षणका लागि
आकाशमा जूनतारा पनि छन्
धर्तीमा फूल र नदीहरू छन्
संगीतका धुन
पहाडका सुन्दरता
हिमालका मुस्कानहरू पनि छन्
तर केवल आफू भन्दा टाढा टाढा छन् ।

भिडमा हराएको मान्छे जस्तो
छुटेर गएको साथी जस्तो
एक्लो बनेको छ जीवन
छैनन् भन्दा धेरै छन्
आफ्ना हितैषीहरू
तर आफ्ना जस्ता छैनन्
केही छुरा खोज्छन्
केही आँखैमा बसेर घोच्छन्
केही भाउ र दाउ खोज्छन्
अनि तिललाइ पहाड बनाएर
खोइरो खन्छन्
रुखमा चढाउँछन्
अनि फेद काट्छन् ।

खोलाको किनार जस्तो
भयो जिन्दगी
छालहरू आएर हिर्काउँछन्
अनि जान्छन्
माझी दाइको ढुङ्गा जस्तो भयो जीवन
अरूलाई पार तारेर
आफू वारि बस्नु पर्ने ।
(सुन्दरहरैंचा, मोरङ)

तपाईको प्रतिक्रिया