एकैदिन ९ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप, कसैलाई पनि समस्या नदेखिएको मन्त्रालयको दाबी

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप एकैदिन ९ हजार बढीले लगाएका छन् । खोप अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदुरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो ।

प्रधानमन्त्री ओलीले उट्घाटन गरेलगत्तै आज सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाएका हुन् । खोप लगाएका कुनै पनि व्यक्तिलाई समस्या नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

गौतमले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ– ‘छोटो समयमा खोप तालिम ढुवानी तथा वितरण सञ्चार र खोप केन्द्रहरूको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेल्नु हुने सबै तहका समन्वय तथा अनुगमन समिति, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, स्वयंसेवकहरू, सुरक्षाकर्मी तथा व्यवस्थापकलाई विशेष धन्यवाद दिन चाहन्छ।’

तपाईको प्रतिक्रिया