सुनसरीमा एम्बुलेन्स चालकले लगाए कोरोना विरुद्धको पहिलो खोप

इनरुवा / इनरुवाका एम्बुलेन्स चालक ४७ वर्षिय नारायण मण्डल जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाउने पहिलो व्यक्ति बनेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार अभियानको औपचारिक सुरुवातको क्रममा मण्डललाई कोरोना विरुद्धको पहिलो डोज लगाइएको हो । इनरुवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रबाट अभियानको औपचारिक सुरुवात गरिएको छ ।

सो क्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल सहित स्वास्थ्य प्रमुख सागर प्रसाईका साथै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । प्रजिअ पोखरेलले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको थालनी गरेका थिए । एम्बुलेन्स चालकले पहिलो डोज लगाएसँगै इनरुवा अस्पतालका मेसु डाक्टर सन्तोष राई र इन्डोर इन्चार्ज रोनी ठाकुरले खोप लगाएका थिए ।

त्यस पश्चात क्रमश अन्यले खोज लगाएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सरकारी मापदण्ड अनुरुप अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई खोप लगाइने छ । कार्यालयले खोप कार्यक्रम तीन दिन चल्ने जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका ४ स्थानमा खोप लगाइदै छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजयपुर अस्पताल, इटहरी अस्पताल र इनरुवा अस्पतालमा पहिलो चरण अन्र्तगत प्राथमिकतामा परेका व्यक्तिहरुको हकमा खोप लगाइने छ ।

स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा कुल १२ हजार डोज खोप प्राप्त भएको छ । पहिलो डोज लगाएका व्यक्तिलाई पूनः २८ दिन पछि दोस्रो डोज दिइने छ । कार्यालयले पहिलो चरण अन्र्तगत जिल्लामा ५५ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष लिएको छ ।

तपाईको प्रतिक्रिया