मोरङको सुन्दरहरैंचामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर / मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट मंगलबार एक महिलाको मृत्यु भएको छ । जंगलमा घाँस काट्दै गरेका बेला हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका –१० की २८ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालकाअनुसार पराजुलीलाई बिहान ९ बजेतिर हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएकी उनको दिउँसो १ः३० बजेतिर मृत्यु भएको जानकारी ढकालले दिए ।

छरछिमेकी र गाउँलेसँगै सीता पनि घाँस काट्न गएका बेला लोहोन्द्रा साझेदारी वनमा घटना भएको स्थानीय चूडामणि नेपालले बताए । हात्तीले आक्रमण गरेको र साथीलाई हात्तीले आक्रमण गरेको चाल पाएपछि सँगै घाँस काटिरहेकी मीरा बोगटीले भने भागेर ज्यान बचाएकी थिइन् । घटनापछि हात्ती दुई÷तीन पटक कराएर पश्चिमको जंगलतर्फ लागेको नेपालले बताए । घटना भएका बेला जंगलमा नजिकैको दृष्य पनि नदेखिने गरी बाक्लो हुस्सु लागेको थियो । हुस्सुकै कारण नजिकै आउँदा पनि नदेख्दा जम्काभेट भएपछि हात्तीले सीतालाई आक्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ ।

घटनास्थलमा सीताले काटेको एक मुट्ठी घाँस, उनले लगाएका चप्प र एउटा गाम्छा पनि भेटिएको छ । घटनास्थल वरपर हात्तीका धेरै पाइला भेटिएका कारण हात्ती ठूलै समूहमै रहेको प्रहरीको अनुमान छ । दुई साताअघि देखिनै जंगल आसपास र गाउँनजिक चार÷पाँच वटाको समूहमा जंगली हात्ती देखा परिरहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

वडा अध्यक्ष राजेन्द्रबहादुर थापा ‘राजेश’काअनुसार दुई साता अघिदेखि नै जंगल आसपासमा हात्तीको गतिविधी बढिरहेको पाइएको थियो । त्यही भएर सबैलाई सावधानी अपनाएर सुरक्षित रहन आग्रह गरिएको भए पनि अहिले भने मावनीय क्षति नै गराएको उनको भनाइ छ । थापाकाअनुसार समूहमा रहेका हात्ती दिनभर जंगलतिर बस्ने र रात परेपछि गाउँतिर छिर्ने गरिरहेका छन् । जंगलमा अभाव भएकाले खानेकुरा खोज्दै गाउँतिर छिर्ने गरेको हुनसक्ने उनले बताए ।

सुन्दरहरैँचा नगरपालिकाको कार्यापालिका सदस्य भक्तकिरण राईले जंगली हात्तीले गाउँ छिरेर सर्वसाधारणलाई त्रसित बनाउने र लगाएका अन्नबाली खाएर सखाप बनाइदिने तथा घरहरु भत्काइदिएर उपद्रो मच्चाउने काम गरिरहेको बताए । उनकाअनुसार यो समस्या वर्षौदेखिको पुरानै हो । राईले हात्ती नओस् भनेर जंगल वरपर नियमित रुपमा उज्यालो बनाइराख्न रातको समयमा वत्तीको व्यवस्था गर्ने र सर्वसाधारणमा सावधानी अपाउन आग्रह गर्ने गरिएको बताए ।

तपाईको प्रतिक्रिया