सोलुखुम्बुमा टिपर दुर्घटना : तीन जनाको मृत्यु , एक घाइते ( तस्विरहरू सहित)

विराटनगर / सोलुखुम्बुमा आइतबार राति ११ बजेतिर भएको टिपर दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । सोलु खोलामा निर्माणाधिन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्न प्रयोग गरिँदै आएको बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२÷३३ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका– ४ का ३२÷३३ वर्षीय राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । घाइते अवस्थाका उनलाई सडकबाट लगभग सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि फाप्लु अस्पताल लगिएको जानकारी तिमल्सिनाले दिए । नकाअनुसार घटनास्थलमा गाडी र एम्बुलेन्ससहित उद्धारका लागि स्थानीय बासिन्दा र प्रहरी खटिएका थिए । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपारका कामदार भएको प्रहरीले जनाएको छ ।

८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको टिपर सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा दुर्घटनामा परेको तिमल्सिनाले बताए । भीडबाट खसेर भएको दुर्घटनापछि टिपरको अगाडिको भाग सडकबाट लगभग एक सय मिटर तल झरेको अवस्थामा भेटिएको छ । टुटेको टिपरको पछाडिको भाग भने सडकबाट लगभग तीन सय मिटर तल फेला परेको उनको भनाइ छ ।

उक्त टिपर सोलुदूधकुण्ड–७ साल्मेस्थित सोलु खोलामा निर्माण सम्पन्न भएको २३.५ मेगावाटको अपर सोलु हाइ«डोपावरबाट सोलुदूधकुण्ड–११ भदौरेस्थित त्यही खोलामा निर्माणाधिन अवस्थामा रहेको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन र रडहरु लिएको गइरहेका बेला दुर्घटनामा परेको हो । दुर्घटनामा परेर टिपर पूर्ण रुपमा क्षति पुगेको छ भने सडक पनि अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुबाट लगभग १५ किलोमिटर पूर्व–दक्षिणमा पर्छ ।

घटनाको अनुसन्धान सुरु गरिए पनि दुर्घटनाको कारण खुल्न नसकिरहेको प्रहरीले जनाएको छ । अप्ठेरो र कच्ची सडकमा ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । जम्मा नौ फिटको साँघुरो सडकमा यातायातका साधन दोहोरो रुपमा चल्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

एउटा हाइड्रोपावरबाट अर्कोमा ग्याविन जाली र रड लिएर रातको समयमा गएको टिपर के कारणले दुर्घटनामा परेको हो भन्ने खुल्न नसकेको हाइड्रोपावरका कर्मचारी प्रकाश दाहालले बताए । उनकाअनुसार दुर्घटनामा परेको टिपर अर्को बाटो प्रयोग गरेर लगिएको पाइएको छ । ‘टिपर निश्चित र पुरानो बाटो हुँदै दायाँ मोडेर जानुपर्नेमा बायाँ मोडेर लगिएको पाइयो,’ टेलिफोन सम्पर्कमा दाहालले भने, ‘गन्तव्यसम्म पुग्न तलको बाटो जानुपर्नेमा चार÷पाँच सय मिटर माथिको बाटो प्रयोग गरेको देखिन्छ ।’

उनकाअनुसार टिपर चालक पुरानै र अनुवभी हुन् । तर एउटा बाटोबाट जानुपर्नेमा अर्को बाटो प्रयोग गरेर किन टिपर लगियो भन्ने कुरा नै रहस्यको गर्भमा रहेको उनले बताए ।

टिपर मोडिएको सडक नयाँ भएकाले चालकले भेउ नपाउँदा र सडकका बारेमा अनुमान लगाउन नसक्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । त्यही ठाउँमा यसअघि २०७६ साल असोजमा पनि एउटा सुमो गाडी पल्टिएर अर्को गाडीमाथि बजारिँदा भएको दुर्घटनामा एक जनाको ज्यान गएको थियो । त्यही ठाउँमा त्यसअघि अर्थात २०७५ सालमा पनि सुमो पल्टिएर दुर्घटना हुँदा सात जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दालाई उद्रित गर्दै ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार त्यो ठाउँमा प्रत्येक एक÷एक वर्षको फरकमा मानवीय क्षति हुने ठूलाठूला दुर्घटना भइरहेका छन् । दुर्घटनाबाट त्रसित बनेका स्थानीय बासिन्दाले देवीदेवतालाई मानभाउ नपुगेको भनेर विशेष पूजापाठ पनि गरिरहेको स्थानीय कल्पना राईले बताइन् । दुर्घटना रोकिन्छ कि भनेर घटनास्थल नजिकै गुप्तेश्वर महादेवको एउटा मन्दिर पनि स्थापना गरेर नियमित पूजापाठ भइरहेको, तर दुर्घटना भने नरोकिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया