बेपत्ता युवाको शव खोलामा भेटियो

विराटनगर / अघिल्लो दिन घरबाट बेपत्ता भएका मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ वर्षीय मनोज साह बुधबार दिउँसो मृत फेला परेका छन् ।
सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा रहेको झर्ना खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । पानीभित्र डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रहरीकाअनुसार साह मंगलबार दिउँसोबाट घरदेखि बेपत्ता बनेको जानकारी परिवारका सदस्यले दिएका छन् । आफन्त र परिवारका सदस्यले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् । अघिल्लै दिन सम्पर्कविहीन बनेका उनी भोलिपल्ट खोलाको पानीभित्र मृत भेटिएका हुन् । घटनास्थल र साहको घर लगभग दुई किलो मिटरको दूरीमा रहेको जनाइएको छ । प्रनि ढकालले मृतकको शरीरमा कुनै चोटपटक नरहेको जानकारी दिए ।

अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेपछि पानी बगिरहेको पैनीमा ढलेको र उठ्ननसक्दा पानी चिसो भएका कारण कठ्याङ्ग्रिएर त्यहीँ ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको गम्भीर ढंगले अनुसन्धान थालिएको ढकालले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट युवाको मृत्युको कारण खुल्न सकेन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै यकिन हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित