भारत जाने पालो पर्खिरहेका चालकको ट्रकभित्रै मृत्यु

विराटनगर / नेपालतर्फ ल्याउने सामान ‘लोड’ गर्न भारत जाने पालो पर्खिएर विराटनगर भन्सारनजिक बसिरहेका एक चालकको ट्रकभित्रै मृत्यु भएको अवस्थामा बुधबार बिहान शव भेटिएको छ । भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको हो । प्रहरीकाअनुसार खाना खाएपछि उनी आफैले चलाउने पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्रै मंगलबारराति सह–चालक पञ्जावकै २५ वर्षीय अब्दुल लतिकसँग सुतेका थिए । तर भोलिपल्ट बिहान उठेर हेर्दा मृत्यु भएको अवस्थामा शव देखेकोभन्दै सह–चालकले ९ बजेतिर प्रहरीलाई खवर गरेका हुन् ।

चालक र सह–चालक सामान लिन जाने पालो पर्खिएर तीन दिनदेखि विराटनगर भन्सार कार्यालयनजिक बसिरहेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । चार दिनअघि ट्रकमा सामान लिएर आएपछि नेपालतर्फ ‘अनलोड’ गरेका उनीहरु फेरि सामान लिन भारततर्फ जाने पालो पर्खिएर बसेको पाइएको थापाको भनाइ छ ।

प्रहरीले ट्रकमा ओसारपसार हुने सामानका बारेमा भने थाहा नभएको बताएको छ । उनीहरुले विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित खोक्सामा ट्रक राखेका थिए । भारत जाने पालो पर्खने क्रममा उनीहरु खाना खाएर ट्रकमै सुत्ने र बस्ने गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले ट्रकभित्र ओढ्ने ओढेर सुतिरहेको अवस्थामा चालकको शव भेटिएको जनाएको छ ।

प्रनि थापाले मृत्युको कारण थाहा नभएको र शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने थापाको भनाइ छ । नेपाल प्रहरीले भारत पञ्जावमा रहेका मृतक चालकका परिवारका सदस्यलाई घटनाका बारेमा जानकारी दिइसकिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया