सुनसरीका २ सय ६० जना पत्रकारको निशुल्क दुर्घटना बिमा

सुनसरी / सुनसरी । प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना पत्रकारहरुको निशुल्क एक बर्षे दुर्घटना बिमा गरिदिएको छ ।
मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डौमा इृन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा एक बर्षसम्म बिमा गरेको पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजार सम्म प्रदान गरिने उल्लेख छ ।

प्रेस युनियन सुनसरीले यसअघि आईएमई जनरल ईन्स्योरेन्स कम्पनी सँग २ सय ६० जना पत्रकारकै कोरोना बिमा गराएको थियो । सोही बापत कोरोना संक्रमित भएका २२ जना पत्रकारहरुले सो रकम समेत लिईसकेका छन । बिराटनगरस्थित नोबेल अस्पताल सँगको सहकार्यमा प्रेस युनियन सुनसरीले जिल्लामा कार्यरत सबै पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुटको सम्झौता समेत गरेको थियो । सोही सम्झौता कार्यन्वयनमै रहेको अध्यक्ष अधिकारीले बताए । कोरोनाकै कारण पत्रकारहरुलाई दैनिक जीवन यापन गर्न समेत कठिन भएको अबस्थामा ६२ जना पत्रकारहरुलाई खाद्यन्न लगायतका सामाग्री समेत प्रदान गरिएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघले समेत पत्रकारहरुको दुर्घटना बिमा गरिरहेको भएपनि सबै पत्रकारहरुले सो सुबिधा लिन असमर्थ भएका कारण उनीहरुको सहजताका लागि आफुहरुले जिल्लामा कार्यरत पत्रकारको दुर्घटना बिमा गरिदिएको अधिकारी बताउँछन । पत्रकारहरुलाई जोखिमको क्षति न्युनीकरणका लागि आफुहरुले सम्झौता गरेको र यसरी प्रेस युनियन सुनसरी सँग सहकार्य गर्न पाउँदा अत्यान्तै खुसी लागेको ईन्स्योरेन्सका अधिकृत खत्रीले प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया