विराटनगर आँखा उपचारको केन्द्र बन्दै

विराटनगर / विराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेश लगायतबाट पनि यहाँ बिरामी आउने गर्छन् ।

सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा नबस्ने, आँखालाई सामान्य रुपमा लिने मानिस नै आँखाका बढी रोगी हुने गरेको चिकित्सकहरु बताउँछन् । सन् २००४ मा भाडाको घरबाट शुरु भएको बिराटनगर आँखा अस्पतालमा अहिले वर्षमा एक लाखभन्दा बढी विरामीको आँखाको बिभिन्न शल्यक्रिया हुँदै आएको छ । फेको, जेप्टोजस्ता आधुनिक प्रविधिमार्फत मोतिविन्दुको सफल उपचार हुने गरेको छ भने जलविन्दु, रेटिनाको विशेष शल्यक्रिया, आँखाको नानीको प्रत्यारोपण, ओकुलोप्लास्टी समेत आधुनिक प्रविधिमार्फत गरिँदै आएको छ ।

“आँखामा लाग्ने रोगकै कारण अहिले पूर्वाञ्चलका मानिसहरु बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ”, विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार प्रिठुले भन्नुभयो, “बरु बाहिरबाट उपचारकै लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।” अन्य अस्पतालभन्दा धेरै सस्तो र गुणस्तरीय उपचार भएकाले पनि यस अस्पताल बिरामीको चाप बण््दै गएको छ । अस्पतालले ज्येष्ठ नागरिकको उपचारमा विभिन्न सहुलियत र सुविधा प्रदान गर्दै आएको छ ।

यहाँ स्थापना भएका आँखा अस्पतालहरुमध्ये सबैभन्दा धेरै विराटनगर आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीको आँखाको परीक्षण तथा उपचार हुँदै आएको छ । तीमध्ये सबैभन्दा बढी भारतीय नागरिक हुन् । “स्वदेशी र भारतीय नागरिक मात्रै होइन, यस अस्पतालमा उपचारका लागि भुटान र बङ्गलादेशबाट पनि बिरामी आउने गर्छन्”,प्रबन्धक प्रिठूले भन्नुभयो ।

सन् २०१९ मा विराटनगर आँखा अस्पतालमा छ लाखको आँखा र कानको उपचार भएको तथा ७२ हजार बिरामीको शल्यक्रिया भएको सो अस्पतालले जनाएको छ । यसबाहेक, विराटनगर आँखा अस्पतालमा व्याचलर इन अप्थेल्मोलोजी रेसिडेन्सी कार्यक्रम सञ्चालन हुँदै आएको छ भने बिभिन्न फेलोसिपका कार्यक्रमसमेत सञ्चालित छन् । दातृ निकायको सहयोग, मेहनती टिम तथा सस्तो, सुलभ तथा गुणस्तरीय सेवाका कारण पनि अस्पताललाई यो स्थानमा पु¥याउन सम्भव भएको उहाँको भनाइ छ ।

प्रबन्धक प्रिठूका अनुसार हजारांै मानिसलाई आँखाको नानी नपाएर अन्धो भएर बस्नुपर्ने बाध्यता छ । ‘आँखा दान महादान’ भन्ने नारा गाउँगाउँसम्म पुग्न सकेको छैन् । आफू मरेपछि गरिने आँखा दानबारे आम नागरिक अझै पनि सचेत र जागरुक हुन सकेको छैन । त्यसैले अस्पतालले विभिन्न ठाउँमा गएर आँखा दानबारे जनचेतना फैलाउन खालका कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । सन् २०१९ मा अस्पताललाई पाँच जना व्यक्तिबाट १० वटा आँखाको नानी प्राप्त भएको प्रबन्धक प्रिठुले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकास्थित पुरानो अस्पताल रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका डा भाष्कर झाले बन्दाबन्दीयता बिरामीको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार आँखाको उपचारका लागि अस्पतालमा अहिले दैनिक तीन सयको हराहरीमा बिरामी आउने गरेका छन् । तीमध्ये अधिकांश मोरङ, सुनसरी र भारतका छन् । अहिले स–साना बालबालिकामा आँखाको समस्या दिन प्रतिदिन बढ्दै गएको डा झाको भनाइ छ ।

बच्चाहरुमा अहिले आँखा चिलाउने, टाउको दुख्ने समस्या बढ्दै जानु र चस्मा अनिवार्य नै भइरहेको बताउँदै उहाँले बच्चाहरुले धेरै मोबाइल हेर्नु, नजिकबाट टिभी हेर्नु नै ठूलो समस्या रहेको र यस्तो कुरामा परिवारले धेरै ध्यान दिनुपर्ने बताउनुभयो । गोल्छा अस्पतालमा धेरैजसो बिरामी मोतिविन्दु र जलविन्दुको उपचारका लागि आउने गरेका छन् ।

आँखा देख्न कम भएमा, आँखा धमिलो वा रातो हुँदै गएमा ,आँखाको गेडी दुखेमा उपचारका लागि तुरन्त नजिकको आँखा अस्पताल गएर उपचार गराउनुपर्ने आँखा विशेषज्ञ बताउँछन् । आँखा जस्तो संवेदनशील अङ्गमा कुनै पनि प्रकारको समस्या देखा परेमा लापार्वाही नगरी तुरुन्त आँखा अस्पतालमा गएर देखाउन डा झाको सुझाव छ । उहाँले समयमा नै उपचार गराएमा मोतिविन्दु, जलविन्दु निको हुने र अन्धो हुनबाट बच्न सकिने जानकारी दिनुभयो । उच्चरक्तचाप र मधुमेह रोग भएका बिरामीले कम्तीमा वर्षको एक पटक आँखा अनिवार्य रुपमा जचाउनुपर्ने डा झाको सल्लाह छ ।

मोतियाविन्दु जन्मेको बच्चादेखि वृद्धसम्मलाई हुने भएकाले यो रोगले कुनै पनि उमेर भन्ने गदैैन् । मोतिविन्दु हुने व्यक्तिको आँखाको नानी सेतो भएर दृष्टि कमजोर हँुदै जानु यसको मुख्य लक्षण रहेको छ भने मोतीविन्दुको शल्यक्रिया गर्दा आँखाभित्र लेन्स राखिन्छ र पहिलाको जस्तै आँखा देख्न सकिन्छ । अस्पतालमा अत्याधुनिक नयाँ उपकरणबाट कम्प्युटराइज फेको प्रविधिद्वारा मोतियाविन्दुको शल्यक्रिया गरिन्छ ।

मोतीयाविन्दुको शल्यक्रिया गरेबापत रु तीन हजारदेखि रु २२ हजारसम्म शुल्क लिने गरेको छ । अस्पतालमा दैनिक १५ देखि २० जनाको आँखाको शल्यक्रिया हुने गरेको छ । “आँखामा कुनै पनि समस्या आएमा अहिले पनि धेरै मानिस चिकित्सकको सल्लाह एवं परामर्शबिना नै औषधि प्रयोग गर्ने गरेको छ”, डा झाले भन्नुभयो, “संसारलाई नियाल्ने र हेर्ने अङ्गलाई आफू खुशी उपचार गरेर बिगार्नु हुँदैन ।”

विराटनगर महानगरपालिका–२ मा विगत नौ वर्षदेखि सञ्चालनमा रहेका तापडिया आँखा अस्पताल अन्य अस्पतालको तुलनामा निकै महँगो छ । यहाँ सहुलियत एवं छुट छैन । निजीस्तरमा व्यावसायिक हिसाबले सञ्चालनमा ल्याएको यो अस्पताल गरिबका लागि नभएर सम्पन्न र धनी मानिसका लागि मात्र उपयुक्त छ । चर्को शुल्क र महँगो उपचार धान्न नसक्ने बिरामी कि त गोल्छा कि त विराटनगर अस्पताल जाने गरेका छन् ।

अस्पतालमा विराटनगर, धरान, इटहरीबाट बिरामी आउने गरेको तापडिया आँखा अस्पतालको कर्मचारी दीपक मिश्रले बताउनुभयो । अस्पतालमा अहिले ५० देखि ६० जना आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् । यो अस्पताल सञ्चालन हुनुभन्दा पहिले डा स्वेता तापडिया गोल्छा आँखा अस्पतालमा काम गर्नुहुन्थ्यो ।

‘सरकारले सहयोग गरोस्’

आँखा स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याउन पाएकोमा डा। स्वेता तापडिया खुशी छन्, सन्तुष्ट पनि छन् । यद्यपि उनी चाहन्छन्, सरकारले पनि यस क्षेत्रमा थप सहयोग गरोस् । “जसरी प्राथमिक स्वास्थ्य चौकी गाउँगाउँ पुग्न सफल भएको छ, त्यसरी नै सरकारले प्रत्येक अस्पतालहरुमा आँखा स्वास्थ्यलाई पनि प्राथमिकतामा राखोस् भन्ने मेरो चाहना छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले आँखाको नानी प्रत्यारोपणका लागि विभिन्न ठाउँमा आँखा बैंक स्थापना गर्नु आवश्यक छ ।”

उहाँका अनुसार नेपालमा आँखाको नानीमा लाग्ने चोटपटककै कारण वर्षेनी धेरैले दृष्टी गुमाउने गरेका छन् । उनीहरुमा दृष्टी फर्काउने एक मात्र उपाय आँखाको नानीको प्रत्यारोपण हो । त्यसबाहेक, मोतियाविन्दुका कारण हुने अन्धोपना निवारणका लागि लेन्समा लगाएको कर हटाउनु पर्ने, चश्माको आयातमा सहुलियत प्रदान गर्नुपर्ने तथा बालबालिकालाई सानै उमेरदेखि अनिवार्य आँखा परीक्षण गर्न लगाउनु पर्ने चिकित्सकको भनाइ छ ।

तपाईको प्रतिक्रिया