याैन स्वास्थ्य र हृदयाघात

यौन स्वस्थ जीवनको आवश्यकता हो र यसलाई कुनै रोगमा पनि पूर्ण रूपमा वर्जित विषय मानिँदैन। शारीरिक तथा मानसिक अवस्था एवं उपर्युक्त व्यक्ति तथा वातावरण जस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन्। यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल तथा रक्तचाप पनि केही बढ्ने भएकोले मुटुलाई थप दबाबचाहिँ पर्नसक्छ।

यही कारणले मुटुको धमनीको रोग भएका व्यक्तिमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ। जो व्यक्तिलाई सामान्य हिँडडुल वा भर्याङ चढ्दा छाती भारी हुने गर्छ, त्यस्तोलाई यौन सम्पर्कको समयमा हृदयाघातको केही जोखिम हुनसक्छ। यस्तो अवस्थामा मुटुरोग विशेषज्ञसँग परीक्षण गराई मुटुरोगको अवस्थाको बारेमा सही जानकारी लिने उचित उपचार गर्ने तथा सावधानीका उपायहरू सोध्ने गर्न सकिन्छ।

आफ्नो रुचि तथा अवस्थाको बारेमा श्रीमान् श्रीमतीबीच कुनै दूरी नराखी कुरा गर्ने, एक अर्काको अवस्था बुझेर सोअनुसार स्वस्थ व्यक्तिले मद्दत गर्ने, खाना खानेबित्तिकै यौन सम्पर्क नगर्ने, मनबाट त्रास हटाउने, यौनसम्पर्क गर्दागर्दै छाती भारी भएमा रोकेर ‘नाइट्रेट’ समूहको औषधि सेवन गर्नुपर्छ। सो कुरा डाक्टरले बताइसकेको हुनसक्छ वा डाक्टरसँग सल्लाह लिने तथा यस्तो समस्या भएमा तुरुन्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ।

हृदयाघात भएका व्यक्तिले सुरुको दुई हप्तासम्म बढी शारीरिक परिश्रम गर्नु राम्रो हुँदैन। त्यसपछि जब हिँड्डुल गर्दा छाती भारी नहुने तथा स्वयं बिरामीलाई मध्यम तहका शारीरिक गतिविधि गर्न सहज हुन्छ तब यौन सम्पर्क सुरु गर्न सकिन्छ। तर यस्तो कुरा व्यक्तिपिच्छे फरक पर्न सक्छ। साथै हृदयाघातपछि कहिले यौनसम्पर्क गर्ने भन्ने कुराको सही उत्तरचाहिँ जब व्यक्तिले आफूलाई स्वस्थ महसुस गर्छ र यौनको लागि तयार तथा सक्षम ठान्दछ भन्ने हो। हृदयाघातपश्चात् यौनका लागि व्यक्तिले आफूलाई बिस्तारै तयार गर्दै लग्नुपर्छ।

यौनसम्पर्क मात्र विभिन्न स्वस्थ यौनजन्य गतिविधिहरु सुरुको अवस्थामा उपयोगी हुन सक्छन्। उच्च रक्तचाप तथा मुटुजन्य रोगसँगै जोडिएर आउने यौनसम्बन्धी अर्को मुख्य विषयचाहिँ यौनमा रुचि कम हुनु तथा पुरुषको लिङ्ग उत्तेजित नहुनु हो। जसरी मुटु तथा मस्तिष्कको रक्तनलीहरुमा बोसो जम्ने तथा साँघुरिने हुन्छ, त्यसरी नै लिङ्ग तथा योनिका रक्तनलीहरु पनि साँघुरिने भई रक्त प्रवाह घट्न जान्छ।

यौन उत्तेजनाको संवाहक नसा बिग्रिनाले गर्दा पुरुषमा लिङ्ग उत्थानमा गडबडी हुन्छ। दुवैमा यौन रुचि घट्न सक्छ। त्यस्तै पुरुषमा लिङ्ग उत्तेजित नहुने, उत्तेजनामा आउन बढी समय लाग्ने, उत्तेजना लामो समयसम्म धान्न नसक्ने आदि हुनसक्छ भने महिलामा पनि गुप्ताङ्ग सुख्खा भई बढी पीडा हुन सक्छ। त्यस्तै मुटु तथा उच्च रक्तचापका बिरामीले कुनै कारणबिना पनि आफूलाई कमजोर ठानी आत्मबल कमजोर बनाएर यौनमा अग्रसरता नदेखाउने तथा पूर्ण सन्तुष्टि प्राप्त गर्न नसक्ने हुन्छन्, जुन अवस्थालाई मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्छ।

व्यक्तिको उमेर र अवस्था हेरेर वैकल्पिक औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्तै मुटुरोगका लागि चलाइने डिजोक्सिन तथा स्पाइरोनोल्याक्टोन जस्ता औषधिले यौन इच्छा कम गर्ने तथा पुरुषहरूको स्तन दुख्ने तथा सुन्निने गराउन सक्छन्। त्यस्तै मुटु तथा प्रेसरसम्बन्धी केही औषधिले पनि यौन कार्यमा प्रभाव पार्छन्। प्रेसरका लागि चलाइने थाइजाइड तथा बिटा ब्लकर समूहका औषधिले यौन रुचि कम गराउने, चरम सुख नहुने, लिङ्गको उत्तेजनामा कमी ल्याउने गर्छन्। युवा तथा प्रौढ उमेरका करिब १० प्रतिशत व्यक्तिमा यस्तो असर पाइएको अध्ययनहरूले देखाएका छन्। व्यक्तिको उमेर तथा अवस्था हेरेर वैकल्पिक औषधिको प्रयोग गर्न सकिन्छ।

त्यस्तै मुटुको पम्प कमजोर भएका बिरामीहरूमा पनि यौन इच्छा कमी तथा कम यौन सुख प्राप्त हुनसक्छ। यसबाहेक रक्तचाप बढ्ने विभिन्न हर्मोनसँग सम्बन्धित अवस्थाहरु मिर्गौला तथा मधुमेह आदि रोगमा यौन इच्छा घट्न सक्छ। त्यस्तै लिङ्गको उत्तेजना बढाउन भियग्रा ‘सिल्डेनाफिल’ र ‘टाडाल्फिल’ लगायतका औषधि सेवन गर्न सकिन्छ। मुटुरोगी तथा अन्य सबैले यस्तो औषधि सेवन गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ। त्यस्तै नाइट्रेट समूहको औषधि सेवन गरिरहेको व्यक्तिले भियग्राको सेवन गर्नु प्राणघातक हुनसक्छ। त्यो बाहेक हालसालै हृदयाघात भएका तथा मिर्गाैला एवं कलेजोसम्बन्धी रोग भएकोले पनि यसको सेवन गर्नु हुँदैन।

डा. सुनिल चन्द्र झाकाे पुस्तक डाक्टर साहेब भन्नुहुन्छ… पुस्तकबाट।

तपाईको प्रतिक्रिया