उल्टीको राजनीति राम्रो होइन

उल्ट मूल शब्दमा ई प्रत्यय लागेर उल्टी शब्दको व्युत्पति भएको देखिन्छ । यसको अर्थ घिन वा दिगमिगले गर्दा कुनै समयमा खाएको अन्न मुखतिरैबाट फर्किएको वा खाएको अन्न फर्किने प्रक्रिया, छाद्ने काम अथवा खाएर पेटमा पुगिसकेको वस्तु कारणवश उल्टिएर मुखबाट निस्कने शारीरिक प्रक्रिया, बान्ता, वमनको पर्यायवाची अर्थ आउने नेपाली भाषाको एउटा शब्द उल्टी हो ।

यसको वाक्यगठन वमन गरेको अर्थ बुझाउने सन्दर्भमा प्रयोग गरिन्छ तर पछिल्लो समयको प्रयोगलाई नियाल्दा सम्पूर्ण क्षेत्रमा प्रवेश गरेर उधुम मच्चाउदै उल्ट्याइरहेको भान हुन्छ । अझै, नेपालको राजनैतिक विषयमा घोत्लिन थाल्यो भने त झन् पेटभित्ररहेको सबै पदार्थ नै उल्टिएर आउने परिस्थिति सृजनाभएको अनुभूति हुन्छ । यसरी उल्टी नआउने र नगर्नेहरुलाई धुइँपत्ताल खोजिगर्दा अथवा त्यसबाट अछुतो रहेका मानव-प्राणीहरुको नाम-सूचिकृत गर्न खोज्दा सायद भेटिदैन होला कि जस्तो लाग्छ । अझ, कोरोना-महामारी याममा उल्टीको लक्षण देखियो भने त झन् “ दिनमा दोगुना रातमा चौगुना ” कोरोना बढ्यो भनेर शङ्काको भरमा गाउँभरि हल्लै-हल्लाको उल्टी फिजिन्छ र सङ्क्रमितको कोटामा नाम चढाएर होम क्वारेन्टाइनमा राखिहालिन्छ ।

अझ, सामाजिक सञ्जाल र अनधिकृत चलाइएका केही अनलाइनहरुमा लेखिएका र टाँसिएका कुराहरु हेर्दा र पढ्दा त झन् लाग्छ, तिललाई पहाड बनाएर अर्थ कताबाट कता पुग्नेगरि उल्टी-सुल्टी सबैथोक आउनेगरि लेख्ने परम्पराको विकास गर्नु राम्रो होइन । बरु सत्य-तथ्य, विस्तृत खोजमुलक, तथ्यपरक र अनुसन्धानमुलक सामाग्रीहरु लेख्नु, प्रकाशन गर्नु र छपाउनु राम्रो हो । यसरी “जथाभाबी उल्टी गरेर दुर्गन्ध फैलाउने र उडाउनेक्रम नहटाउने र नरोकिने हो भने कोरोना महामारीभन्दा ठूलै बेथितिको-महामारी आउला झैँ लाग्छ ।”

लक्ष्मीप्रसाद कोइराला

हुनतः उल्टी त्यतिकै हुँदैन र आउँदैन पनि । यसका धेरै कारणहरु हुनसक्छन् । कसैलाई पेटमा खराबीहुँदा पनि उल्टी हुनसक्छ भने कसैलाई अरु नै रोगका कारणले पनि उल्टी हुनसक्छ । कसैले अपच हुनेगरी खाना-खाएका कारणले पनि उल्टी हुनसक्छ । कसैलाई मन नपरेको वस्तु अर्काले खाएको देख्दा मनोवैज्ञानिक रुपमा दिगमिग लागेर घिनाएका कारणले पनि उल्टी हुनसक्छ । कसैले जानीजानी आफ्नो मुखभित्र हातहालेर पेटभित्रको बिकार पदार्थ बाहिर निकालेर फ्याक्नलाई पनि उल्टी गर्न सक्छन् । कसैले बोलेर पनि उल्टी गर्न सक्छन् भने कसैले लेखेर पनि उल्टी गर्न सक्छन् । कसैलाई तनावका कारणले टाउको दुखेर पनि उलटी हुनसक्छ । यस्ता धेरै कारणहरुले उल्टी आउँने हुनाले प्रसङ्वस एउटा झिँगाका कारणले उल्टी आएको सन्दर्भ उल्लेख गर्न चाहन्छु ।

असहमत हुने बित्तिकै लहडमा फुटिहाल्ने, रातारात जुटिहाल्ने फरि उलटपुलट गर्ने, जालझेल-षडयन्त्र गर्ने, गुट-उपगुटको पक्षपोषणमा भेला-बैठक गर्ने, पद प्राप्तिका लागि उल्टी-सुल्टी-टिकदम गर्ने-गर्न लगाउने दल खोल्नुको उदेश्य हुन सक्दैन ।

मानौँ, एउटा मान्छेले पिउँदै गरेको दूधको गिलासमा कताकाताबाट उड्दै आएर झिँगा तैरियो । उसको पालो रिसको झोँकमा  दूधसँगै स्वाट्टै निलिदियो । यो दृश्य हेरिरहेको अर्को मान्छेले उसको छेउमा आएर गिज्याउँदै, यस्तो झिँगा र उस्तो झिँगा खाइस् भन्दै घिनाउँदै, छि:छि: र दुर्दुरगर्दे उल्ट्याउने चेष्टागर्न थाल्यो । शुरुशुरुमा उसले त्यति वास्ता गरेन् तर पछि साथीले दोहोर्याइ-तहर्याइ धेरैचोटि गिज्याइरहेपछि, फोहोरी र तुच्छ झिँगाको आकृति, मनोवैज्ञानिक रुपमा उसको मनमा बारम्बार झल्किन थाल्यो । उसको मन-मस्तिष्कमा उत्पन्न भएको घिन र बिकारभावका कारणले तारन्तार उल्टी हुन थाल्यो । अर्कालाई समेत त्यो दिगमिग देखेर र घिनलागेर उल्टी हुन थाल्यो । यसरी खानपाएँ भनेर होस् नपुर्याइ झिँगा खानाका कारणले उसलाई र अरुलाई समेत उल्टी भएर लखतरान परे झैँ, कसैले कुनै कारणवसले गरेको उल्टी अरुका लागि सरुवारोग निमत्याउने कारण नबनोस् । त्यसकारण उल्टी गर्नु राम्रो होइन ।

मान्छे चेतनशील प्राणी भएको हुनाले भेटेँ र खानपाएँ भनेर होसनपुर्याइ झिँगा नै खानहुँदैन उल्टी आउन सक्छ, खानेबेलामा पहिल्यै होसनपुर्याइ खाने अनि उल्टी आउन थालेपछि किन आइस् तँ, भनेर उल्टीलाई पेटतिरै फिर्ता पठाउन मिल्दैन, बिकारवस्तु गन्हाएर दुर्गन्ध फैलने डरहुनाले उल्टिएकै ठाउँमा त्यतिकै छोड्नहुँदैन, जसरी पनि सफा गर्नुपर्छ, सफागर्दा घिनलाग्छ भनेर उल्टीलाई त्यतिकै छोड्नहुँदैन, सङ्क्रामकरोगको कारण बन्नसक्छ त्यसकारण उचित व्यवस्थापन गर्नुपर्छ अनि उल्टीलाई व्यवस्थापन नगरि सुल्टिदैन । व्यवस्थापन नगरिकन “ तँ जसको मुखबाट निस्किएर आइस् उल्टी, त्यसैको मुखबाट फिर्ता जा ” भन्न पनि हुँदैन, हुन्छ र ? अँ, हँ, जहाँसम्म हुँदैन । किनभने, उल्टी भनेको फोहोर-निर्जीववस्तु भएको हुनाले के बुझ्छ र त्यसले अनि फिर्ता जा भन्नुहुँदैन । उल्टीको के को दोष हुन्छ र ? आउँछ, सफा गर्नुपर्छ, जान्छ होइन र ? रोगका कारणले पो उल्टी आउने होइन र ? यदि, हो भने रोग पत्ता लगाएर औषधी गर्नु पार्दैन र ? रोगको औषधीचाहिँ नगर्ने अनि उल्टीलाई थुरिरहन मिल्छ र ? यदि मिल्दैन भने सफा गर्नेको नियमानुसार सबै मिलेर सफा गर्नुपर्छ अनि उल्टी गर्नेलाई पनि फिर्तालैजा भन्नहुँदैन किनभने उल्टी गर्नेलाई फिर्तालैजा भनेर गरिएको फैसला नै छैन । त्यसैले सफागर्ने नियमानुसार सफागर्ने या रोगको कारण बुझेर औषधीको नियमानुसार औषधी गर्ने अनि झिँगा खानेले झिँगा पनि नखाने अनि उल्टी गर्नेले उल्टी पनि जहाँ पायो त्यही नगर्ने, आइहालेमा डस्बिनमा उल्टी गर्ने अनि पछि सफागर्ने बानी राम्रो हो ।

नेपाली राजनीतिमा उल्टीगर्ने रोग निक्कै पुरानो भइसकेको छ जसले धेरैलाई नराम्ररी पिरोलिरहेको छ, निद हराम गरिरहेको देखिन्छ । यस्तो उल्टी-सुल्टीगर्ने परिपाटी राम्रो होइन र रोकिनु पर्छ । दर्शन र विचारको राजनीति राम्रो हो भन्ने बहुसङ्ख्यक जनताको सुझाव हुँदाहुँदै पनि कसैले टेरिरहेका छैनन्, झ्यालि राजनैतिक खेल खेलिरहेका छन् । एक-अर्काको बद्ख्वाईँ र आरोप-प्रत्यारोपको उल्टीगरेर जम्माभएको विकारलाई नफ्याल्ने परिपाटी मौलाउँदै गएको छ । त्यसैलाई सत्ता प्राप्तिको भर्याङ्ग बनाइनु र टिक्नेप्रयत्न गरिरहनु सोह्रैआना गलत हो । त्यो दुर्गन्धित वस्तुलाई सफा गर्नुपर्छ तर हामीले गरिरहेका छेनौँ, छोडिरहेका छौँ जसलेगर्दा हामीलाई उल्टीको महामारीले सताइरहेको छ । यो सङ्क्रामक रोग भएको छ जुन हेर्दाहेर्दै सरिरहेको छ, देख्दादेख्दै सरिरहेको छ, खाँदाखाँदे सरिरहेको छ, खेल्दाखेल्दै सरिरहेको छ, थुकका छिटाबाट सरिरहेको छ, हावाबाट सरिरहेको छ, पानीबाट सरिरहेको छ । जस्तो एउटा पार्टीकाले उल्टी गरेको अर्का पार्टीकाले देखिरहेको छ, अर्का पार्टीकाले गरेको अर्का पाटीकाले सिकिरहेको छ, यस्तो उल्टीगर्ने फोहोरीबानी बसेरगएको छ जसले कसैलाई भलो गरिरहेको छैन । सबैलाई कमजोर बनाइरहेको हुनाले चिकित्सकको सल्लाहमा जतिसक्दो चाँडो औषधिमुलो गर्नु राम्रो हुन्छ ।

हुनतः कहिलेकाही उल्टीगर्नु र गराउनु पनि तात्कालिक आवश्यकता बन्ला तर राजनैतिक दल र नेता-कार्यकर्ताले साङ्गाठानिक विधि-पद्धति नै भुलेर एक-अर्कालाई सिध्याउन उल्टीको सहारा लिनु किमार्थ राम्रो होइन । विचारमा असहमति जनाउन पाइन्छ तर असहमत हुने बित्तिकै लहडमा फुटिहाल्ने, रातारात जुटिहाल्ने फरि उलटपुलट गर्ने, जालझेल-षडयन्त्र गर्ने, गुट-उपगुटको पक्षपोषणमा भेला-बैठक गर्ने, पद प्राप्तिका लागि उल्टी-सुल्टी-टिकदम गर्ने-गर्न लगाउने दल खोल्नुको उदेश्य हुन सक्दैन । राजनीति गर्नु भनेको जनताको हितकालागि राज्को नीति निर्माणतहमा पुग्नलाई गरिने प्रयत्न हो, त्यसकालागि सङ्गठन चाहिन्छ, लक्ष्य चाहिन्छ, उदेश्य चाहिन्छ, जनताको अभिमत चाहिन्छ, नेता चाहिन्छ, कार्यकर्ता चाहिन्छ, दल चाहिन्छ तर गुटबन्दी चाहिँदैन, सत्ता सुल्ट्याउने चाहिन्छ, उल्ट्याउने चाहिँदैन तथापि हामीलाई जुन नचाहिने हो त्यही चाहिरहेको छ अनि जिध्दि र घमण्डका कारण टाउको दुखाइले उल्टी आइरहेको छ । यसरी उल्टीको राजनीति गर्नु राम्रो होइन । हुनतः दल र गुटबन्दी मानिसहरु कै सङ्गठित समूहहरु नै भएतापनि दुवैमा फरक छ । राजनैतिक दलले जनताको भलोगर्ने विचार लिएर भोटहरुको बहुमतद्वारा काम गरेको हुन्छ भने गुटबन्दीले टाउकाहरुलाई फोरेर कामगर्ने हुनाले उल्टी आउन थाल्छ । दलमा बहस हुन्छ-गुटबन्दीमा तर्क हुन्छ, रिस-राग हुन्छ । दल हुनलाई गुटबन्दी आवश्यक छैन तर गुटबन्दीका लागि दल आवशयक छ तर कहीँ-कतै पनि उल्टी आउने गुटबन्दीको राजनीति आवश्यक छैन, बन्द गरिनु पर्दछ ।

राजनैतिक दलबारेमा विभिन्न विद्वानहरुले विभिन्न विचार प्रकट गरेका छन् तथापि त्यसका नेता-कार्यकर्ताहरुले पाटीको विधान अनुसारको सङ्गठन-पद्धति, नीति, सिद्धान्त र अनुशासनलाई भुलेर सार्वजनिकरुपमा कुनै पनि नेता-कार्यकर्ताले उल्टीगर्न पाइन्छ भनेका छैनन् । विद्वान गिलक्राइस्ट भन्छन्- “राजनैतिक दल केही मानिसहरुको सङ्गठन हो जसको एउटै विचार र उदेश्य हुन्छ ।“ त्यस्तै अर्का विद्वान मुनरो भन्छन्- “राजनैतिक दल ती मानिसहरुको समूह हो जो सार्वजनिक समस्याहरुमा एकमत राख्छन् ।“ त्यस्तै विद्वान गेटेल भन्छन्- “राजनैतिक दल केही मानिसहरुको यस्तो सङ्गठन हो, जसले एउटै किसिमको विचार लिन्छ तथा जो आफ्ना अनुयायीको मतको बलमा सरकारको मेशीन कब्जागरेर त्यो कार्यक्रम र नीतिलाई कारर्यान्वयन गर्न चाहन्छ, जसमा उनीहरुको विश्वास छ।“ यसरी दल सम्बन्धमा माथि उल्लेखित विद्वानहरुका परिभाषालाई संक्षेपमा भन्न सकिन्छ- दल मानिसहरुको सङ्गठित समूह हो, जसमा विचार मिलेकाहरु हुन्छन् , विधान, सङ्गठन र पाटी-पद्धति अनुसार नेता-कार्यकर्ताहरु आफ्नो उदेश्य र लक्ष्य प्राप्तगर्न राजनीतिमा लागेका हुन्छन् ।  त्यसकारण राजनीतिलाई मागिखाने भाँडो बनाउन हुँदैन । नेता नेताजस्तो भएर,पार्टी पार्टीजसरी चलाउने कि ?

तपाईको प्रतिक्रिया