मोरङको उर्लाबारीबाट ‘विप्लव’ समूहका सैन्य लडाकु हतियारसहित पक्राउ

विराटनगर / प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकु मोरङको उर्लाबारीबाट शनिबार साँझ हतियारसहित पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको बताए । पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको जानकारी उनले दिए ।

खड्काका अनुसार विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको हो । पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ । उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेर्पाको साथबाट ‘पक्राउ परेका व्यक्ति ‘विप्लव’ समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको खुलेको छ,’ एसपी खड्काले भने, ‘बाँकी कुरा अनुसन्धानपछि खुल्दै जानेछ ।’ शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने तयारी प्रहरीको छ ।

तपाईको प्रतिक्रिया