तस्करलाई पक्राउ गर्न विराटनगरमा हवाई फायर

विराटनगर / अवैध रुपमा भारतबाट सामान लिएर आएको समूहलाई नियन्त्रणमा लिन प्रहरीले विराटनगरमा एक राउण्ड हवाई फायर गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवामा आइतबार बिहान ४ बजेतिर प्रहरीले हवाई फायर गरेर सामान तस्करीमा संलगन एक जना महिलालाई नियन्त्रणमा लिएको छ । भारतबाट तस्करी गरेर ल्याइएको कम्मरमा लगाउने एक बोरा बेल्ट (पेटी)सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनले दिएको सूचनाका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र तस्कर समूहबीच दोहोरो घम्साघम्सी हुँदा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको एसपी खड्काले बताए । भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा केही बेर अवस्था तनावपूर्ण बनेको थियो । सादा पोसाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर १०÷११ जनाको संख्यामा रहेका तस्करको समूहले अवरोध पु¥याएपछि हवाई फायर गरिएको खड्काले बताए ।

उनका अनुसार तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण हुन थालेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गरिएको हो । हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको जानकारी खड्काले दिए ।

खड्काले नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई थालिएको बताए । अवैध ओसारपसार र तस्करी नियन्त्रणमा लिन सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर ‘स्वीप अप्रेशन’ सञ्चालन गरिएको उनको भनाइ छ ।

नेपालबाट भारततिर मरिच, मटर, सुपारी लगायतको तस्करी हुँदै आएको छ । भारतबाट नेपालतिर लत्ताकपडा, तेल, चिनी लगायत दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया