छठ पर्वको सन्ध्याकालीन अघ्र्य अर्पण

जनकपुरधाम / आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायत पोखरीमा अघ्र्य सामग्री लिइ सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दे अघ्र्य दिइन्छ ।

छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कात्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैतको षष्ठीका दिन मनाइन्छ । सङ्ख्यात्मक दृष्टिले चैते छठ पर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेको छ ।

षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ । सम्भाव्य कुप्रभावबाट रक्षा गर्ने सन्दर्भमा षष्ठी तिथिले रक्षाको सामथ्र्यका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ । छठको विधि विधानले शरीर र मनलाई सौर्य ऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए ।
सूर्यको उपासनाले पाचनतन्त्रका लागि लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको पनि बताइन्छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । त्यसैले सूर्यलाई एउटा अभिष्ट देवताका रूपमा वैदिककालदेखि नै पुजिएको छ ।

वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । छठ पर्वमा सूर्यलाई ‘छठिमाई’ का रूपमा पूजा गर्ने चलन छ, जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको समिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुनसक्ने विश्वास पाइन्छ ।

छठमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ । यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थान गर्ने र डोमले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

तपाईको प्रतिक्रिया