टावरहरुको भेल वा झेल ?

खहरे खोलाको भेल एकै छिनको झेल नै हो । छोटो समय गड्गडाउँछ अनि एकै छिनमा सुख्खा । केही छिन अघि बडेमानको रुख र ठूला ढुंगाहरु नै बगाउँछु भन्ने पानी एकै छिनमा सुक्छ । ज्ञानको गफ र शक्तिको रबाफ खहरे जस्तै रहेछ । बढि ज्ञानीले पन्डित्याँइ गरेर केही काम गर्दैन अनि सत्ता र शक्ति आफ्नो मुठ्ठीमा आए पछि मानिस अरु कसरी बाँचेका छन् नदेख्दा रहेछन् । सबै रगत आफ्नैै नाम र शान ठड्याउनमा मात्रै केन्द्रित रहँदो रहेछ । अंशुबर्माले कैलाशकुटको भब्यतामा आफ्नो नाक ठाडो पारे । यो समयमा त मानिस गरिव छन् त्यो समयमा सबै गरिवहरुको दुख मर्का हेरिसकेर त्यो भब्य दरबारको निर्माण भएको थियो होला त ? पटक्कै लाग्दैन ।

राजामहाराजाहरुको टावर मोह वा टावर झेल इतिहास देखी नै प्रशस्त पढ्न पाइन्छ । कोही रानीका भोगी थिए त कोही अग्ला टावरका रोगी थिए । प्रजाको आँखामा छारो हालेर आफ्नो गुणगान स्तुती गर्न लगाउने अनि आफु मोज र भोजमा डुबिरहने परम्पराको इतिहास निकै लामो नै छ । माघ महिनामा चिसो ढुंगामा बसेर तपस्या गर्ने अनि सबैको धुरीबाट धुँवा निस्केपछि खाने राजाहरु पनि थिए भनिन्छ । भोगीहरुको भिडमा त्यागीहरु कता कता हराइहाल्ने । दुध खाए कहिले कहिले, रक्सी खाए अहिले भनेझैँ सत्कर्म गरेर नामी हुन समय निकै लाग्ने भए पछि टावर ठड्याएर छिटो अनि खहरे बाटो समाउनेको भिड इतिहासमा निकै भएछ । त्यो संस्कार आज पनि निरन्तर छ । जब पुराना सबै राजाहरुको इतिहास पनि बिर्साउने टावर निर्माण हुन थाले, यो भेल हो कि झेल हो त कोट्याउन मन लाग्यो ।

अरु घोडा चढ्यो भनेर आफु टावर चढ्ने ।

घोडा र धुरीको उखान मैले दोहोर्याउन पक्कै पर्दैन । गुरुबा नै देशको शक्तिमा हुनुहुन्छ । एउटै झापामा हुर्केको अनि म भन्दा निकै अघिको कन्चनजंगा हिमालबाट ठोक्किएर आएको चिसो हावाको सास फेर्नेमा निकै दम छ । हामीमा निकै कम छ । तैपनि कोसिस जारी छ ।

समय सधैँ एकनास रहन्न । हावा पनि सधैँ एकै तिर बहन्न । समय बाँङ्गिएको छ अनि हावाको वहाव पनि फेरिएको छ । तर हामी नेपाली हिमालहरुको कुना काप्चामा हुर्किएका भएर होला अग्लाको मोह सबैमा सधैँ छ । अझ संसारकै अग्लो नमुना सगरमाथा हामीसँग नै छ । अनि जसरी पनि अग्लो हुन हामीलाइ किन भित्रै देखी मन नलागोस् ? यो सरल कुरा छ । सबैमा उचाइको प्रेम छ । हाम्रो मुर्खताकै भएपनि फाइदा उठाएर वीरहरुको तक्मा पनि निकै अग्लो नै छ ।

मुर्ख भएपछि बहादुर हुने नै भैहाले । जता हाम फालेपछि अनि जोशिएर बैरीमाथी जाइ लागेपछि नेपाली बहादुर भैहाले । वीरता र बहादुरी छली थियो अनि हामी मात्र कसैको हली थियौं । हामीले कुरो बुझेनौं । किनकी हली एकछिनको न्यानोमा भुलिन्छ अनि जीवनभर त्यै न्यानोमा छलिन्छ र दलिन्छ । हामी अझै टावर चढ्न थालेर त्यै क्षणिक न्यानोमा अलमलिँदै छौं । अझै पनि ।

घर टावर जत्रो अनि सोच केचना जस्तो ।

बहादुरले रगत र पसिना बेचेर आएको सबै आम्दानी अग्लो घरको टावर बनाउँनमा लगायो । सबैलाइ अग्लो देखायो अनि आफ्नो नाम सबैको शिरको शिलालेखमा नै लेखायो । शिर सगरमाथा भयो तर मन केचना नै रह्यो । चिन्तन र सोचको सागर खाल्डोमा नै सिमित रह्यो तर घर शहरको रहर भयो । पसिनाको पावर टावर भयो । भित्रको कस्ले देख्ने ? टावरको गुणगान सबैले देख्ने अनि लेख्ने । अनि त टावर पावर भयो । घर अग्ला हुँदै गए, मन बामपुड्के बन्दै गयो ।

प्रेम केचना भ्रमणमा गयो अनि टावरको रहर हर प्रहर सगरमाथातिर गयो । सगरमाथाको गीत सारंङ्गीले गायो तर दाप्से पेट बोकेर त्यै सारंङ्गीले सिस्नोको झोलमात्र खान पायो । मालिकको आँगनमा त्यै सारङ्गीले मिठो धुन गायो तर आफ्नो आँगनमा विरहको भाका एक्लै गुन्गुनायो । एउटाले संगीतको स्वाद पायो अनि अर्कोले सारंगीको सही विरह गायो । टावर एकछिनको संगीत हो अनि सारंङ्गी बाँकीको पेटको आकार ।

काम पाइनस् नेताजी टावर बनाउँदै ।

खेतमा इँटा फलिरहेका छन् । पसिना खाडीमा बलिरहेका छन् । त्यै पसिनाले पठाको पैसाले यहाँका सबै डाँडाहरुमा टावर ठडिरहेका छन् । हाम्रा सन्तान तिनै टावर हेरिरहनेछन् । नाक फुलाउनेछन् र आफ्ना पनि सन्तानहरुलाइ इतिहास र पुर्खाको वीरता र बहादुरीको गाथा स–गर्वका साथ सुनाउने छन् । हामी अब जे फलाएर पनि उत्पादन गरेको देखाउने भैसक्यौं । हामी घोडा, गाडी छोडेर मोनोरेलको युगमा गैसक्यौं ।

हामी एक खाल्डो चार चोटि खन्दै पुर्दै गरेर परिश्रमीको पदक पाउनेमा पर्दैछौं । हामी हरियो डाँडा तासेर भिरमा टावरको रहर बोकेर झन् तल झर्दैछौं । अरु गतिलो गर्ने काम भेट्न नसकेपछि हामी फेरी राती दुइ बजे सम्म टावरको गुड्डी हाँकेर बस्तैछौं । अरु भुइँफुट्टा काम गरेर के अलमलिनु बरु टावर नै ठड्याएर महान् काममा नै फँस्तैछौं । खेती गरे कहिले कहिले, टावर बनाए अहिले । छ काम छोडेर टावर अनि दश काम छोडेर त्यस पछिको भोजन ।

भ्यु टावर, नेताको पावर ।

टावर ठाडो पार्नु पुरुषत्व हो । यो मर्दको काम हो । कि गर्दै नगर्ने तर गरेपछि अग्लै बनाउने काम नै गर्ने । कति महान सोच छ । हाम्रो देशका विद्धान र महान् नेताराजाहरुको नयाँ दर्शनको नयाँ भर्सन । अहिलेको जमानामा पावर कता छ त ? कि नाममा छ कि दाममा छ । टावर मात्र यस्तो काम भयो जस्ले नाम पनि दिन्छ अनि दाम पनि सजिलो, धेरै अनि छिटो पनि दिन्छ । तव पावरको काम नगरेर अर्थोक झिना मसिना काममा किन अल्झिएर बस्ने ? खेतीपाती दश ट्वाक, टावरको एकै ठ्वाक । ठूलो ठ्वाकमा शक्ति छ । शक्ति संकलन अनि प्रदर्शन नै त आजको जमानाको समय–माग हो । पावर टावरमा नै त छ ।

बुर्ज खलिफाको देशका आमाहरु हिराको भकारीमा हराएर पनि दुखी छन् । किनकी टावरमा नै त पावर छ । चीन पछि धेरै टावरहरुको देश पाम आइल्याण्डको देश पनि हो । उनीहरु मरुभुमिमा टावर बनाएर पावर देखाउँदै छन् तर हामी हरिया डाँडा तासेर टुप्पामा टावर बनाएर अर्को नयाँ पावर देखाउँदै छौं । जे होस् जस्तै अनि जतै भए पनि टावरमा निकै पावर छ ।

मुखमा माड छैन, टावरमा घीऊ, कसरी लाग्छ गरिवको जीऊ ?

बडाबाहरु, टुक्का हाम्लाइ पनि अलिअलि आउँछ । नेपाली हामीले पनि अलिअलि पढेको छ । कुरो हामी पनि थोडाबहुत समझ राख्छम् । भला बुरा हामीलाइ पनि खोट्याउन अलिअलि आउँछ । कालीमाटीमा कागती आयातको व्रmेटहरु मैले पनि हेरेर आएको छु । किनेर मात्र खानेलाइ चिन्न कठिन छैन । कुन दिन त्यै निचोरिएको कागती जस्तै अनुहार पार्ने दिन पक्कै आउने नै छ । कामकुरो एकातिर, कोदालो बोकी टावरतिर ।

नपाउनेले चिजबल्स पायो, टावरमा बसेर खायो । हुने घरको खेतीमा सल्लाह, नहुने स्वाँगेको टावरमा हल्ला खल्ला । अधकल्चे बुद्धि, टावर टावर कुद्धी । दुइ लोग्नेकी जोइ, टावरमा चढेर रोइ । खेती न कमाइ, दुइ हातले टावर समाइ । माइक समातेर ठूलो ठूलो हल्ला, हमरले फोर्छु कपासका ठूला ठूला डल्ला । कि बलले गर्छ कि छलले । मुखमा माड छैन, टावरमा घीउ अनि कसरी लाग्छ गरिवको जीऊ ?

नेताजी, चुनाब आउँदैछ घरमा नआउ, टावरमा जाउ र बेस्सरी कराऊ ।

अमेरिका अनि युरोपको बिकास बाटाको होइन । सोचको राजमार्गको हो । अध्ययन र चिन्तनको समुन्द्रको हो । जहाजको होइन । बढि ज्ञानमा पनि अहंकार नआएको होइन तर त्यसले नराम्रोसँग सिकाएको पनि छ । खोक्नेले ठोकेनन् अनि ठोक्नेले कहिल्यै खोकेनन् । खोक्ने पनि अनि ठोक्ने पनि गर्न सके झनै राम्रो । हाम्रो संस्कार एकातिर खोक्ने अनि अर्कै तिर गएर फलामको खन्ती नै ठोक्ने भयो ।

अब नाङ्गै भए पछि पनि हाम्रा दिदी बहिनी अनि आमाहरुको अगाडी कसरी भोटको भिख माग्दै आउने होलान् ? लाज शरम अलिकति पनि लाग्दैन ? कट्टु सम्म पनि त बाँकी राखेको भए हुन्थ्यो ! त्यै पनि खोलेर फालेपछि कस्को के लाग्छ ? भिरको गोरुलाइ न पछाडि ठाम न अगाडी जाम । हे नाङ्गे राजाहरु, अब आउने चुनाबमा हाम्रा घर घरमा नआऊ, आउने भए कम्तिमा कट्टु वा तौलिया बेरेर आऊ । नत्र यता नआऊ, टावर तिरै जाऊ अनि त्यहिँबाट बेस्मारी चिच्याएर सबैले सुन्ने गरी कराऊ । साँझमा स्याल कराए जस्तै गरी ठूलो स्वरमा गीत गाऊ ।

सुस्ता खायौ, कालापानी खायौ, स्वास्नी भोकै राखेर सुन्तलीसँग भोज मनायौं ।

गरिव, पिछडिएका जाती र वर्गलाइ पौष्टिक खाना देऊ तर पैसा नदेऊ । माछा नदेऊ तर जाल बनाउने र माछा मार्ने कला सिकाइदेऊ । शिक्षा सही देऊ तर जातको नाममा बलीको बोको नबनाऊ । थर फेरेको नाटक गरेर गोहीको आँशु नबगाऊ । तिनै गरिवको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति फेरी पनि नअपनाऊ । कब्जियत भए बरु दुवइ जाऊ, सिँगापुर अनि थाइल्याण्ड नै जाऊ तर स्वास्नी भोकै राखेर नयाँ सुन्तलीसँग भोज नमनाऊ । जनता भोकै परिरहँदा टारमा बसेर फेरी फेरीको सरकारको पार्टी नमनाऊ । हाम्रो इज्जत टाँस्तै उक्काउँदै गर्ने थुकले टाल्ने बस्तु पटक्कै होइन । हामीलाइ अर्गानिक पावर चाहिएको छ, झुक्याउने टावर होइन ।

टावरको संसारको सही सार

टावर क्षणभंगुरताको संकेत हो । फुलेको जुँगामा जोश हाल्नु हो । तल बग्ने पानी माथी फाल्नु हो । जीवन जमिनमा छ , कमाउनु र रमाउनु तल नै छ । फल तल नै फल्छ , जल तल नै अडिन्छ । आकाशमा हावा छ । टावर चढ्नु हावामा जानु हो, जल र फल छोडेर एकैछिन हावामा अल्मलिनु हो । हावामा जानु भनेको जीवनबाट बिदाइ खानु हो । यो संकेत समय छोडेर अलि अघि नै जानु हो । हावामा जानु साथ बोकेर केही नलानु हो । टावर जवानीको जोश हो । बुढो भएर पनि अझै कल्पनामा हराउने बेहोस हो । जाने बेलाको झिपिक्क चम्काइ हो । तत्वसारमा तलै जानुछ तर मोहको क्षणिक माथी लम्काइ हो ।

जीवनसार अन्तमा भजन गाउनेमाछ तर एकैछिन डिस्को र पपमा रमाइ हो । टावर पावर जस्तै हो । बिस्तारै क्षय हुनु नै छ । जमिनलाइ मुखैले छुनु नै छ । अनेक पनि एकमा एकाकार हुनु नै छ । त्यसैले टावर बास्तबमा बेकार हो । अहंकारको प्यार हो । लालसाको संसार हो । दुइ दिन अरु ठगेर तीन दिन आफैं ठगिनु बेकार हो । हावामा मात्र रमाउनु अतिखती हो, बेकार हो । हावामा रमाउने र सबै जन उल्लु बनाउने सरकार हो । टावर सेकेन्डको रहर हो । यो बुढा गोरुहरु भित्र लुकेको क्षमताहिन तर उम्लिएको अनि डुव्रmने बहर हो । निकै पाको र धेरै हावापानी खाकोले लाको बैशको प्यार हो । टावर बेकार हो अनि त्यै मात्र जतै देख्ने हाम्रो सरकार हो । ……निरौला एक लेखक तथा उत्प्रेरक वक्ता हुनुहुुन्छ

तपाईको प्रतिक्रिया