भारतीयलाई नागरिकता दिलाउन नक्कली बुबा खडा, वडाध्यक्ष पक्राउ

एक लाख दिएर नक्कली बुबा बनाएकाे खुलासा

काठमाडौँ । प्रहरीले भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिने कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको छ । अध्यक्ष जोशीमाथि भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।

वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर वडाध्यक्ष जोशीले भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका नक्कली दाजु बनेका खुसीराम चौधरी र भाउजू भनेकी गीता चौधरीलाई पक्राउ गरेको छ ।

नक्कली बुवा बन्ने चौधरी भने फरार भएको प्रहरीले जनाएको छ । भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

तपाईको प्रतिक्रिया