हतियार सहित पक्राउ

इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ बस्ने २३ वर्षिय टुमा सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । झै झगडाको विषयमा यादवलाई पक्राउ गरेको प्रहरीले उनको घरबाट खानतलासीको क्रममा पेस्तोल समेत बरामद भएको जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिदै आएको भन्ने प्राप्त सुचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।

हतियार समेत रहेको भन्ने सुचना अनुरुप खोजतलासको क्रममा यादवको घरको शौचालयको सेफ्टी टंकी छेउमा प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा मेड इन इण्डिया लेखेको पेस्तोल फेला परेको थापाले जानकारी दिए ।

पेस्तोलमा लोड गरिएको म्याग्जीन र २ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । हतियार सहित पक्राउ परेका यादव विरुद्ध हात हतियार खरखजाना सम्वन्धि मुद्दामा कार्वाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया