आज विजयादशमी : टीकाको शुभसाइत १०: १९ बजे, याे दिशामा फर्केर टिका ग्रहण गर्नु उत्तम

इटहरी / हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १० : १९ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

अहिले शुक्र दक्षिणतिर भएकाले टीका लगाइदिने मान्छे पूर्वतिर फर्किने र लगाउने मान्छे पश्चिम फर्कन उपयुक्त हुने ज्योतिष हरिप्रसाद भण्डारीले बताएका छन् । दैत्यका गुरु शुक्राचार्य भएकाले बिघ्न बाधा नपरोस् भनि शुुक्रलाई पछाडि पारेर टीका लगाउने प्रचलन छ । शुक्राचार्यले दैत्यको पक्षमा काम गर्ने विश्वासले विजयका बेला शुक्राचार्यको वेवास्ता गर्ने प्रचलन रहिआएको हो । यस्तै चन्द्रमालाई सम्मुख वा दाहिने पारेर पनि टीका लगाउदा उपयुक्त मानिन्छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । यस वर्ष कोरोनाबाट बच्न घरघरमै सुरक्षित रहेर मान्यजनबाट आशीर्वाद लिनुपर्ने छ । व्यक्तिको शरीर रहे मात्र चाडपर्व मनाउन सकिने भएकाले सुरक्षित तरिकाले दशैँ मनाउन समितिले आह्वान गरेको छ ।

पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रि जाग्राम रहेर पूजा लगाई धन, ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

तपाईको प्रतिक्रिया