दशैअघि नै फुलेपछि खेर जाँदै सयपत्री फूल

काठमान्डाैं / यतिबेला किसानले लगाएको सयपत्री फूल ढकमम्म भएर फुलिसकेको छ ।यस वर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेतिगर्दै आएका छन् । तर यसपटक फूल फुल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दा सम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ ।

फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दशैंको समयमा फूल प्रयोग र बिक्री कम हुन्छ । किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ ।

दशैंमा फूलको प्रयोग कम हुने र तिहारसम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानीसमेत घट्ने भएको छ । अहिले फूल ढकमक्क फुलिसकेको छ र बढीमा एक हप्तासम्म मात्र बोटमा रहन सक्छ । टिपिसकेको फूल बढीमा तीन दिनमात्र रहन सक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरो पनि किसानहरुलाई परेको छ । इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा बिक्री गर्दै आएका छन् ।

अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले बिक्री गरेका किसानले यो वर्ष पाँच रुपैयाँले बेच्छु भन्दा पनि ग्राहक पाउन नसकेको गुनासो गरे । काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना ठूला मन्दिरहरुमा चाडपर्वबाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ ।

तपाईको प्रतिक्रिया