अख्तियारमा उजुरीबारे बोल्दै एसपी थापाले भने : बदनाम गर्न खोजियो

इनरुवा / सुनसरीका प्रहरी प्रमुख कमल थापाले आफ्नो बदनाम गराउन केहि व्यक्ति र समूह सुनियोजित रुपमा लागि परेको बताएका छन् । अख्तियारमा आफु विरुद्ध कमाउ धन्दामा लागेको भनि परेको उजुरीको विषयमा उनले आफुलाई सुनियोजित रुपमा बदनाम गराउन खोजिएको बताएका हुन् । विगतका वर्षको दाँजोमा लागुऔषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हात लाग्दै गएको अवस्थाका बिच सोही विषयलाई जोडेर रकमको मोलमोलाई गर्ने गरेको भनि आफुमाथि लगाइएको आरोपलाई उनले बदनीयत पूर्ण भएको बताएका छन् ।

स्थानीय संचारकर्मीहरु सँगको कुराकानीमा एसपी थापाले भनेर्, सुनसरी प्रहरीले लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनले निकै सफलता हात पारेको छ । वर्षौदेखि लागुऔषधको कारोबार गर्दै आएकाको चेन समेत तोडिएको छ । तर, अफसोच पूर्वक भन्नु पर्छ ः प्रहरीका राम्रा काम नदेख्नेले प्रहरीको खैरो खन्ने काम मात्र गरिरहे’ ।

उनले पूर्वमै लागुऔषध कारोबारको हिसाबले अग्र सूचीमा पर्ने सुनसरीमा स्विप अपे्रसन चलाई प्रहरीले नियन्त्रणका प्रयास थाल्दा प्रहरी प्रमुख उपर कमाउ धन्दामा लागेको आरोप लगाइनु नियोजित भएको बताए । एपसी थापाले लागुऔषध जस्तो संवेदनशील विषयमा प्रहरीले रकम लिएर कोही कसैलाई छाड्नै नसक्ने बताए । प्रहरीको अनुसन्धान र रणनीति आफ्नै तवरको हुन्छ । जसलाई धेरैजसो अवस्थामा सार्वजनिक गर्न मिल्दैन्, थापाले भने ।

अपराध रहित समाज निर्माणमा जुट्दा समाजकै अङग भएकाले समेत कतिपय अवस्थामा प्रहरीले अभिभावकीय भूमिकामा रहेर काम गर्नु पर्ने हुन सक्छ । जसमा आवश्यक्ता भन्दा बढी विषय उठान गरेर व्यक्ति र सिङगो संगठनको बदनाम गराउनु दुर्भाग्य हो । आवश्यक्ता परे सम्वन्धित विषय सरोकारावालले सोझै अनुसन्धान वा छानविन गर्न सक्छन् । जसमा प्रहरी सहजिकरण र समन्वय गर्न तयार छ । तर सुनियोजित रुपले बदनाम गराउने खोजियो उनले भने ।

सिआइबीमा समेत रहेर काम गरेको अनुभवका आधारमा प्रहरी प्रधान कार्यालयले आफुलाई सुनसरीको जिम्मेबारी तोकी पठाएको बताएका थापाले आफ्नो बदनाम गराउन लागि परेका व्यक्ति वा समूहले प्रहरीबाट आफु अनुकुल सेवा र सुविधा नपाउँदा आफुमाथि रिसिवी साँध्ने प्रयास थालेको हुन सक्ने बताएका छन् । उनले आफ्नो बदनाम गराउन चाहनेले बनावटी घटना क्रममा राजनीति समेत मिसाउन खोजेको बताए ।

सोही विषयलाई लिएर अख्तियारमा आफु विरुद्ध परेको उजुरी तर्फ इङिगत गर्दै थापाले भने, संगठनको मूल्य र मान्यताबाट विचलित नभई जिम्मेवारी निर्वाहमा खटिदा आइपरेका समस्या र चुनौतीलाई अवसरका रुपमा लिएको छु । वास्तविकता छानविन प्रतिवेदनले सबै माझ ल्याउने नै छ । उनले प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानमा खटिएको टोलीलाई घटनाको सम्पूर्ण विवरण जानकारी गराएको बताउदै अनुसन्धान प्रतिवेदनले आफुलाई दोषी ठहर्याए सहर्ष स्विकार्दै कार्वाहीको लागि तयार हुने समेत बताए ।

एसपी थापा विरुद्ध लागुऔषध तथा सुर्तिजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई सो विषय छानविन गर्न पत्र काटेको थियो । छानविन समितिले बयान लिने काम सकि सकेको बताएको प्रदेश प्रहरी कार्यालय स्रोतले सोही अनुरुपको व्यहोरा सहितको प्रतिवेदन अख्तियारमा बुझाउने तयारी थालिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया