दशै धर्म कि परम्परा ?

लगभग एक वर्षदेखि नेपाल लगायत विश्वभरीका मानिसहरु कोरोनाका कारण बन्दा बन्दीको अवस्थामा रहेका छन् । उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्थाहरु लगायत व्यापारीक केन्द्रहरु समेत बन्द अवस्थामा रहेका छन् । हरेक दिन रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल र अखवारहरुमा कोरोनाका कारण सङ्क्रमित हुनेहरु र मृत्युवरण गर्नेहरुको विवरण सहितको पिडादायी समाचारले पनि निरन्तरता पाईरहेकै छ । संसार आक्रान्त यो विषम अवस्थामा पनि समय रोकिएको छैन । समयको गति सँग सँगै हाम्रा चाड पर्व र उमङ्गका दिनहरुपनि निरन्तर क्यालेण्डरका पानामा घुमिनै रहेका छन् । यही घुमाइका क्रममा यो वर्ष यानेकी २०७७ को दशैपनि नेपालीहरुका घर आगनमा भित्रिई सकेको छ । सधैंका वर्षहरुमा जस्तो मानिसहरुको भौतिक चहलपहल पर्याप्त नदेखिएता पनि सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट सचेतना सहित प्रशस्तै दशैं आएको आभास हुन्छ ।

दशैका प्रसङ्गमा विभिन्न विद्वान र जातिय पहिचानवादीहरुका दृश्टिकोणहरुको वाढी नै आएको छ । चाड मान्ने वा नमान्ने ? वा कसको चाड ? मनाउन चै मनाउने तर टीका नलगाउने, सेतो टीका लगाउने, यो खस आर्यहरुको चाड भएकाले राज्यले विभेद गरेको हाम्रो पर्वमा एक दिनपनि विदा नपाइने दशैमा ८ र १० दिन छुट्टी गरेर राज्य संयन्त्र नै तहस नहस बनाउन खोजेको आरोप लगाउनेहरुको पनि खासै खाँचो छैन । यी सबै अवस्थाहरुको सुक्ष्म विश्लेषणगर्दा आखिर दशै मान्नु भनेको धर्म निर्वाह गर्नु हो या साँस्कृतिक परम्पराको निरञ्तरता हो भन्ने प्रश्न उठ्नु स्वभाविक नै छ ।

डा. टोलनाथ काफ्ले

धर्म र परम्परा एकअर्काका परिपूरक मानिन्छन् । तथापि यी दुईका बीचमा ठूलो भिन्नता रहेको छ । सामान्यतया धर्म ज्ञान निर्माण वा सिद्धांत विकासमा केन्द्रित रहन्छ भने परम्परा आदिम कालबाट चलनचल्तीमा आएका कर्महरू को निरन्तरता हो । बृहत् नेपाली शब्दकोशले धर्मलाई व्यक्ति वा वस्तुमा सधै रहिरहने गुण वा मूल वृत्ति, प्रकृति, स्वभाव र स्वर्ग प्राप्तगर्न सकिने लोकविश्वास भएको उन्नत कार्य भनी व्याख्या गरेको छ । यसैगरी सोही शब्दकोशले परम्परालाई पहिला देखि चलिआएको रीतिस्थिति, अविच्छिन्न रूपले चलीआएको क्रम वा सिलसिला प्रथा, रुढी का रुपमा लिएको छ । धर्मले मानिसलाई सामाजिक आस्था र परम्पराहरु को निरन्तरताका लागि अनुबन्धित गर्ने काम गर्दछ हामीले मान्ने धर्महरु भित्र विभिन्न परम्पराहरु छन् । तिनी परम्पराहरु को निरन्तरताका रुपमा दशैं पनि रहेको छ ।

दशै के हो र किन मनाइन्छ ?

हिन्दु धर्मवलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका(प्रसाद ग्रहण गर्ने पर्व दशै हो । यस विषयमा अहिले वभिन्न मतहरु विकास भएकाछन् । ठाउँ, जात र व्यवस्थानुसार दशैका विषयमा फरक फरक दृष्टिकोण विकसीत भएका छन् । नेपालको सन्दर्भमा दशैं हिन्दु परम्परामा आधारीत भई सनातन धर्ममान्ने नेपालीहरुको मौलिक पर्वका रुपमा विकसित राष्ट्रिय चाड हो भन्दा खासै अत्युत्ति नहोला । नेपालीमात्रको महान चाड दशै र यसको शुरुवातका विषयमा हामीहरुका बीचमा पनि यस सम्बन्धी फरक फरक मिथक अरुले घर गरेकोछ र हामी अनुकुलताको व्याख्यामा आफूलाई समाहित गराई रहेका छौ ।

हिन्दू धर्मका धर्म ग्रन्थहरुमा गरिएका व्याख्याहरुमा समेत मत ऐक्यता नहुनुले पनि आ–आफ्नो पाराले सबैलाई व्याख्याको अवसर मिलेको मान्न सकिन्छ । ज जस्ले जे जे व्याख्या गरेको भएता पनि खासमा दसैं सामाजिक सद्भाव पारिवारिक मिलन र एक आपसमा आत्मीयता बढाउन मनाउने चाड हो । पं. योगेश भण्डारीका बिचारमा कुनै पनि नयाँकुराको सुरुवात भएपछि त्यस सगँ सम्बन्धित तथ्यहरूलाई पछिल्ला पुस्तामा निरन्तरता दिन र परम्परालाई जोगाई राख्नका लागि फरकफरक किंवदन्ती किस्साहरु बन्ने गर्दछन् । यसैको परिणाम हो दशैं सम्बन्धि विभिन्न धारणाहरूको विकास र व्याख्या । धार्मिक व्याख्या अनुसार भगवतीले दुष्ट दैत्यहरुको वध गरेको खुशयिाली, भगवान रामचन्द्रको रावणमाथिको विजयको खुशीयाली जस्ता कथाहरु जोडिएका छन् तर यी कुनैको पनि शास्त्रीय र समय सान्दर्भिकता सम्बन्धी प्रमाण यथोचितरुपमा पाउन सकिदैन ।

धार्मिक विश्लेषणका आधारमा हिन्दूहरूको सभ्यता र परम्परामा नै नियमितरुपमा दैवीशक्तिको पूजा, अर्चना र ईश्वरीय भाव विकाससँग सम्बन्धित भएकाले नियमित पूजाआजा शक्तिको आराधना र प्रसाद ग्रहणका रुपमामात्र दशैलाई लिनसकिन्छ । यसका लागि कुनै खास दिन र पर्व नै आवश्यक छैन किनभने धर्म भनेको स्वभाविक गुण हो, जसले चित्तवृत्ति निरोध लाई हटाई स्वर्ग प्राप्तिका लागि क्रियाशील बनाइरहन्छ । हाम्रा धार्मिक मत र व्याख्यालाई आधार बनाउँदा पनि खासमा दशै कैले मनाउनुपर्छ र मनाइन्छ भन्ने स्पष्ट प्रमाणहरु पाइँदैनन् । हिन्दु धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान रामचन्द्रले रावण बध गरेर विजय बनाउन सबैलाई टीका लगाइदिएको परम्पराबाट दशैंले निरन्तरता पायो भन्ने उल्लेख छ ।

रामको रावणमाथिको विजय उत्सव र दशैंको टीकाको सम्वन्ध पुष्टिहुनेगरिका प्रमाणहरुपनि हाम्रा धर्मशास्त्त्रहरुले प्रष्ट पारेको पाईदैन । रामचन्द्रको रावणमाथिको विजयका सम्बन्ध धर्मशास्त्रले गरेको व्याख्या देवीको आराधना कै आधारमा यो किम्वदन्ती विकसित भएको हुनुपर्दछ । हिन्दुधर्मका विभिन्न धर्मशास्त्रहरुले एउटै प्रसङ्गलाई पनि फरक फरक ढङ्गले व्याख्या गरेका थुप्रै उदाहरणहरु भेटिन्छन् । राम र देवी उपासनाको प्रसङ्ग भने देवीभागवतको तृतीय स्कन्धको २८ औ अध्याय देखि वर्णित छ । संसारलाई आफ्नो वसमा पारी देवता र ऋषि अरुलाई नै विक्षिप्त बनाई एकछत्र ब्रह्मांण्ड कब्जा गर्न सफल रावणले आफ्नो राज्य विस्तारकै क्रममा गरेका विभिन्न कर्महरु मध्ये सीताको हरण पनि पर्दछ ।

रावणले सीताहरण गरेपछि शोकमा परेका त्रिकालदर्शी भगवान रामचन्द्रले रावणको वध गरी सीता फिर्ता गर्नु मात्र उनको कर्म नभई लोकलाई सुख दिनु पनि थियो । यसै प्रसंगमा नारद ऋषिले वनवासमा रहेका रामचन्द्रलाई शारदीय शुक्लपक्ष र चैत शुक्लपक्षमा भगवतीको आराधना र नौ दिनसम्म पूजा अर्चना गरी आफुमा शक्ति सञ्चय गर्न र आफ्ना सैनिकहरूलाई बलवान् बनाउन दिनुभएको सुझाब अनुसार भगवान रामचन्द्रले देवीको आराधना गरेको प्रसङ्ग देवी भागवतमा उल्लेख गरिएको छ । यो प्रसंगलाई हेर्दा धार्मिकरुपमा लोक कल्याणका लागि र धर्म प्राप्तिकालागि नवरात्र पूजाको वर्णन सान्दर्भिक देखिन्छ । नवरात्रभरि देवीको पूजा अर्चना गरी धर्म उपार्जन गर्ने विधान पनि नारदवाट वर्णन गरिएको पद्धतिमा आधारित छ । जसका आधारमा हामी पनि अहिलेसम्म नवरात्रमा फरक फरक नामले देवीको उपासना गर्दछौं । देवीलाई शक्तिको श्रोतका रुपमा व्याख्या गर्ने हाम्रो धार्मिक परम्परा नौ दिनसम्म फरक फरक नाम र सामग्री सहित देवी स्मरण गर्ने विधान व्याख्या गरिएको धार्मिक मान्यतालाई आधार बनाउँदा शक्ति संचय र धर्मको निरन्तरता का रुपमा दशैंलाई लिन सकिन्छ । लगातार नौ दिनसम्म देवीको उपासना गरी दशमीका दिन फूल प्रसाद ग्रहण गर्ने परिपाटी पनि धार्मिक मान्यतामा आधारित छ ।

हाम्रो सनातन धर्म व्यवस्थालाई आधार मान्ने हो भने दशैं धर्मको निरन्तरता भन्दापनि परम्परा केन्द्रित छ । हिन्दु धर्म मान्ने नेपाल वाहेक भारतका विभिन्न ठाउँमा दशै र यस्को उपासनाका मिथहरु फरक पाइन्छन् । जस मध्येका केही उदाहरणहरु यसप्रकार छन् —हिमाचल प्रदेशमा कुल्लू का दशहरा भनेर यही समयमा उत्सव मनाउने परम्परा रहेको छ । पहाडका मानिसहरू आफ्नो ग्रामीण देवताको धूम धामसित जुलूस निकालेर पूजा गर्दछन् । कुल्लू नगरमा देवता रघुनाथजीको वंदनासहीत दशैं (दशहरा) उत्सवको आरम्भ गर्छन् । पञ्जाबमा दशहरा नवरात्रिका नौ दिनको उपवास राखेर मनाइन्छ । त्यसबेला यहाँ अतिथहरूको स्वागत पारंम्पारिक मिठाई र उपहारले गरिन्छ । बस्तरमा दशहराको मुख्य कारणलाई रामले रावणमाथि गरेको विजय नमानेर, मानिसहरू यसको कारण मां दन्तेश्वरीको आराधनालाई समर्पित गर्दछन् । यहाँ यो पर्व श्रावण मासको अमावाश्य देखि आश्विन मासको शुक्ल त्रयोदशीसम्म मान्ने चल्छ । पश्चिम बङ्गालमा यो पर्व दुर्गा पूजाको रूपमा नै मनाइन्छ । तमिलनाडु, आंध्र प्रदेश एवं कर्नाटकमा दशहरा नौ दिनसम्म चल्छ जसमा तीन देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । महाराष्ट्रमा यस अवसरमा सिलंगणको नामले सामाजिक महोत्सवको रूपमा मनाइन्छ । सायंकालको समयमा सबैजना नयाँ लुगा लगाएर गाँउको सीमा पार गरेर शमी वृक्षका पातको रूपमा ’स्वर्ण’( सुन) लिएर आ आफ्नो गाउँ फिर्छन् । फेरि त्यस स्वर्णलाई परस्परमा आदान प्रदान गर्दछन् ।

कश्मीरका अल्पसंख्यक हिन्दू नवरात्रिको पर्वलाई श्रद्धासित मनाउँछन् । परिवारका सबै वयस्क सदस्य नौ दिनसम्म खालि पानी खाएर उपवास बस्छन् । अत्यन्त पुरानो परम्परा अनुसार नौ दिनसम्म मानिसहरू माता खीर भवानीको दर्शन गर्न जान्छन् । यी परम्पराहरुलाई आधार बनाउदा पनि दशै टीका र जमराको परम्परा भन्दा फरक रहेको स्पष्ट हुन्छ । नेपाल भित्र वसोवस गर्ने पहाडीमूलका नेपालीहरुले दशै मनाउने परम्परा छ भने हिन्दुहरुले नवरात्र मनाउछन् । डा. मोहन तुम्वाहाङ भन्छन् पूर्वी नेपालमा रहेका लिम्बूहरुले दशै मान्ने परम्परा छ । तर लिम्वू धर्म ग्रन्थ मुन्धुममा दशैको व्याख्या छैन यो विशुद्द नेपाली सास्कृतिक परम्परा हो । तुम्वाहाङका अनुसार खासमा लिम्बूहरुले दशै मनाउने चलन प्राचिन परम्परा होईन । वि .सं १८३१ को गोर्खा र लिम्बूवानको सम्झौता अनुसार सबै नेपालीहरु भैयाद् भएकाले अब उप्रान्त लिम्बूहरुले मनाउदै आएका चाडहरु खसहरुले मनाउने र खसहरुले मनाउदै आएका चाड पर्वहरु अरु जातिहरुले पनि मनाउने सहमति अनुसार दशै मनाउन थालिएको हो । यसकारण दशै सामाजिक सद्भाव विकास गर्न सबै नेपालीहरुले स्वीकार गरेको मौलिक परम्परा हो । जसको निरन्तरता स्वरुप आफूहरुले हालसम्म पनि दशैलाई परम्परा अनुसार चलाई ल्याइएको र यसलाई धर्म भन्दापनि परम्पराका रुपमा स्वीकार्नुपर्ने बताउछन् ।

लिम्बू सस्कृति र जातिय पहिचानका विषयलाई आफ्नो अध्ययनको क्षेत्र बनाएका मधु केरुङको विचारमा शुरुका समयमा जनजातिहरुलाई चाड मान्न वाध्य वनाईएको भएतापनि वर्तमान समयमा सामाजिक सद्भाव र सहिष्णुताको निरन्तरताकालागि परम्परागतरुपमा चलिआएका पर्वहरु सह अस्तित्वको सिद्दान्त अनुसार सबैले स्वीकार गर्नु पर्ने धारणा राख्दछन् । उनको विचारमा दशै धार्मिक मान्यता भन्दापनि नेपालीहरुको मौलिक परम्परा सँग नै बढी सम्बन्धित छ । हाम्रो मौलिकता र चलन सँग जोडिएका थुप्रै क्रियाकलापहरु जसको धार्मिक महत्त्व छैन तर प्रचलनमा रहेकाछन् ति पनि दशैलाई नेपाली परम्परा हो भन्ने प्रमाणका रुपमा मानिन्छन् ।

दशैको पहिले दिन घटस्थापना गरिन्छ यो धार्मिक कार्य हो देवीको आराधना गर्ने काम धर्मसँग जोडिन सक्दछ तर सोही घडाका वरिपरि विभिन्न तरिकाबाट जमरा रोप्ने र उक्त जमरालाई फूलको रूपमा ग्रहण गर्ने परम्परा धर्मसँग सम्बन्धित छैन । विधि पूर्वक घटस्थापना गरेपछि नियमित पूजापाठ गर्नु पर्ने तथ्य सबै जात र अवस्थामा अनिवार्य छैन । यसैगरी बलि दिइ मासु खाने, चिउरा कुट्ने, नयाँ लुगा लगाउने, आफन्त इष्टमित्र र मान्यजनकाहातबाट आश्विनशुक्ल दशमीका दिन देखि कोजाग्रत पूर्णिमाका दिन सम्म टीका र जमरा लगाउने चलन धर्मभन्दा परम्परामा बढी नजिक छ । यीनै तथ्यहरुलाई आधार बनाउँदा खासमा दशैं नेपालीहरूको मौलिक परम्परा र संस्कृतिको अनुपम उदाहरण हो यो हिन्दू धर्मावलम्वीहरुमात्रको पर्व नभएकाले यसलाई र्धार्मिक भन्दा पनि सामाजिक सद्भाव र पारिवारिक मिलनको पर्वका रुपमा जातिय पहिचान र विशिष्टताका आधारमा ग्रहण गरौ ।

डा. टोलनाथ काफ्ले जनता वहुमुखी क्याम्पस इटहरीका सहप्राध्यापक समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया