धरान बिजयपुर स्थित दन्तकाली मन्दिरमा भित्राइयो फूलपाती (तस्विरहरू सहित)

धरान / कोरोना महामारीक बीच पनि धरानमा फूलपाती भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्र्याएसंगै अब सर्वसाधारणको घर घरमा दशै भित्रिएको आभाष भएको छ ।

विगत बर्षहरुमा हर्षोल्लासका साथ भित्र्याइने गरिएको फूलपाति यस बर्ष भने कोरोना महामारीका कारण दन्तकालीका पूजारीले मात्र फूलपाति भित्र्याइएको हो । विगतका बर्षहरुमा नेपाली सेना, सशस्त्र प्रहरीको बेण्डबाजासहित सर्वसाधारणको उल्लेख्य उपस्थितिमा फूलपाति भित्र्याइए पनि यस बर्ष भने फुलपाति भित्र्याउदा न्यून संख्यामा उपस्थित रहेका सर्वसाधारणलाई दन्तकाली मन्दिर परिसरभित्र प्रवेशमा रोक लगाएका कारण गेट बाहिरबाट नै पूजाआजा गर्न दिइएको थियो ।

फूलपाति भित्र्याउन सरिक धरान १४ का समाजसेवी एवम् शिक्षाविद् प्राध्यापक डाक्टर राजेन्द्र शर्माल विगत बर्षहरुमा जस्तोसुकै परिस्थितिमा पनि तामझामका साथ सप्तमीमा दन्तकाली मन्दिरमा फूलपाति भित्र्याउने गरिए पनि यस्तो अवस्था भने इतिहासमै पहिलो भएको बताउनुभयो । उहाले २०४५ साल भदौ ५ गते गएको भूकम्पले दन्तकाली मन्दिर भत्काउदा समेत त्यो सालको दशै दन्तकाली मन्दिरमा भव्यतासाथ मनाइएको स्मरण गर्दै अहिलेको भयावह अवस्था विगतमा कहिल्यै नभएको बताउनुभयो ।

विगत बर्षहरुमा धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्चपाससहित वेण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पूजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात नौवटा जडिबटी मिश्रित फूलपाति दन्तकालीमा भित्र्याइने गरेपनि यस बर्ष भने औपचारिकतामा सीमित गरिएको मन्दिरका प्रमुख पुजारी विश्वप्रकाश शर्माले बताउनुभयो । उहाले नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी दन्तकालीमा भित्र्याएको बताउनुभयो ।

फूलपाति भित्र्याएसंगै दन्तकालीमा सर्वसाधारणले बोका बली दिने प्रचलन भए पनि कोरोनाका कारण मन्दिर नै बन्द गरिएको अवस्थामा यस पटक भने मन्दिर भित्र बली दिन रोक लगाइएको उहाले बताउनुभयो । यस बर्ष कोरोना भाइरका कारण नेपालीहरुको मौलिक पर्वलाई समेत प्रभावित भएकोले यस पटकको दशै घरघरमा बसेर सुरक्षित भइ मनाउन समेत सबैलाई मन्दिरका पूजारीहरुले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया