उदयपुरमा स्कोरपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते

विराटनगर / उदयपुरमा स्कोरपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । कटारी नगरपालिका– १४ भदौरेस्थित सिद्दिचरण लोकमार्गमा शनिबारराति ११ः५५ बजेतिर भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासका अनुसार मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ भने तीन जनाको पहिचान भइसकेको छैन । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको मृत्यु भएको उनले बताए ।

त्यस्तै दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०।३२ वर्षका पुरुष, ३०।३५ वर्षका पुरुष र अर्की ३०।३५ वर्षकी महिलाको पहिचान भइनसकेको एसपी दासको भनाइ छ । मृतकको शव र दुर्घटनामा परेको गाडी अहिलेसम्म घटनास्थलमै रहेको छ । ट्राफिक प्रहरीले ब्रेक फेल भएर स्कोरपिओ दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ ।

गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया