कुर्सीमा बुर्कुसी मार्ने माहात्म्य !

“दाइ एउटा गतिम्लो कुर्ची बनाइदिनुस् न भनेर फेरि पो आइयो है…।” चटक्क आइरन गरेको सेतो सट लगाएका, गहुँगोरोमा कालो छाला भएर पनि आजकलको भाषामा ब्ल्याक हेन्सम भनौँ । कपालमा काइँयोका दाँतको डाम स्पष्ट देखिने । सरकारी कर्मचारीले सिकर्मीसँग बडो मिजासिलो पारामा हल्कासँग भने ।

“कस्तो कुर्सी हो ? केका लागि ? अनि तपाईँ कहाँबाट ? सरकारी मान्छेजस्तो देखिनुहुन्छ नि त ।” सिकर्मीले प्रश्न तेस्र्याए ।

उनी पनि के कम, बडो ठाँटका साथ भन्छन्, “म प्रदेश पाँचका सांसदको मान्छे हुँ…..! कुर्चीको कुरामा प्रश्न नगर्ने है । फेरि अरू अडर अन्तबाट लिउँला नि । विचार गर्नो’स् ।”

कुरा नसक्किँदै हतारिएर सिकर्मी भन्छन्, “प्रदेश पाँचमा मान्छेलाई कुर्सीको केही चिन्ता नै छैन । अनि कति केजीसम्मको कुर्सी बनाउने ? म बनाइहाल्छु नि । कस्तो बनाउने भन्ने बारेमा त मलाई अलिअलि थाहै छ नि हजुर । बरु अरू पनि चाँडै भाँचेर भन्नुभएदेखि म आभारी हुन्थेँ । कुर्सीमा नपुग्नेले त आफ्नो घरमा जतन गरेरै राख्छन् । बनाउनै आउँदैनन् । बन्दाबन्दीले व्यापार पनि ठप्पै छ । अनि साँची टेबल भाँच्चिएको छैन र ? माइक बनाउनुपर्ने भए मेरो भाइलाई म भन्दिन्छु नि है । हाम्रो काम त सेवा नै त हो हजुर । हजुरहरूले अडेस नलाग्ने खाले, त्यहीँ जडान गर्ने खालको कुर्सीचाहिँ नहाल्नुस् है । उचालेर भाँच्न गाह्रो होला फेरि । मेरो सुझाव मात्र ।”

रमेश भट्टराई ‘सहृदयी’

त्यसपछि कुर्सी बनाउन आएका कर्मचारी कुर्सीको विशेषता र बनावटको प्रकृतिलाई प्रष्ट्याउँदै भन्छन्, “कुर्चीचाहिँ….., मान्छेले उचालेर पचार्न मिल्नेसम्मको होओस् । गतिम्लो खाले । तर, उचालेर बजार्दा भाँच्न सकिनेसम्मको त हुनैपर्छ ! अब कुर्चीमा पुग्नी’ले त हो नि भाँच्न पाम्’ने । नपुग्नी’ले त समाचार सुन्ने र हे’र्नि त हो । तर, दाइ ! कुर्चीचाहिँ आरामदायी खालको हुनुपर्छ है । अरूले बोलेको बे’लाँ निन्द्रा लाग्यो भने निदाम्’न नि मिल्ने खाले । प्रदेश सांसदका लागि ‘नि केन्द्रको सांसद भवनको जस्तै आनन्ददाएक नै चाहिन्छ । लचक–लचक खालको भन्ने आदेश छ । निन्द्रा लाग्दा उँघ्न मात्रै होइन, घुर्न ‘नि मिल्ने हुनुपर्छ । कुर्चीमा चढेर चिच्याउन ‘नि मिल्ने है !….एतिहासिक काम गर्नु परेन त । जनताका लागि लड्नेहरूका लागि कुर्ची भने’सि आफै बुझ्नु न । केही गरेर देखाम्न मिल्ने मान्छेका लागि पो हो त !”

सिकर्मीले कुरो बुझे, “हाम्रा सांसदलाई थाहा छ नि त । कुर्ची भनेको बस्ने मात्रै होइन । त्यसलाई भाँच्ने पनि हो । ठटाउने हो । अल्छी लाग्दा निदाउने हो ।”
“यसको पुर्योजनका बारेमा संघदेखि नै ज्ञान छ । यो बहुउपयोगी चीज हो नि । आजकल कुर्चीबाट तपाईँलाई ‘नि मनग्गे फाइदा भा’छ है । अल्छी लाग्दा सुत्ने, उचालेर हान्ने, बजार्ने, ठटाउने सबै चीजलाई एकै पटक गर्न मिल्छ । बहुपुर्योजन हुने ।”

उनी अझै थप्दै गए–

“……मान्छेलाई कुर्ची महिमाको ज्ञान पूरा छैन । हेर्नोस्, यो पुख्र्यौली कानुन हो । सबैले सकेसम्म पालना गर्नैपर्छ । संविधानमा कुर्ची भाँच्नेलाई कार्बाही नलेखे ‘नि अब कुर्ची भाँच्नै पर्ने भन्ने विषयलाई समेट्ने योजना बन्दै छ । सामान्य मान्छेलाई पुलिसले सडकमा डन्डा मारे ‘नि संसदमा चाहिँ मिल्दैन क्या । अब संविधानको धारा १०३ मा ‘नि उही विशेषाधिकारको कुरो छ । वाक्स्वतन्त्रता क्या । अब, कुर्ची भाँच्नेका लागि कार्बाही ग’र्नि बारेमा कहाँ लेखेको छ र ! नेताले झुटो बोलेमा, बदमासी गरेमा, ठगेमा, लुटेमा कानुनले अनदेखा ग’र्नि बारेमा कुरो नगरम् !” कर्मचारीको धाराप्रवाह आवाज रेडियोझै घन्किरह्यो । तबसम्म केही स्रोतागणले उनलाई घेरिसकेका थिए ।

कुर्सी महिमाको मानौँ पुराण जन्मिने भयो नै । प्रदेश पाँचमा सांसदले जनताका निम्ती लडेको लडाइँको माहात्म्य कति अपरम्पार छ । प्रदेशको नाम तोक्दा भोट दिने जनताको आवाजलाई सम्बोधन गर्नै पर्याे । अब नेताले पालना गर्ने मर्यादा पनि त जनताका लागि हो । आखिर नेता भनेको त कुर्सीको शक्तिमा बलशाली हुनै पर्याे । तबसम्म चुपै रहेका छेउका अर्का बुद्धिजीवीको दुई शब्दे मन्तव्य उकुसमुकुस भइरहेको थियो । बिस्तारै पालो पर्खिरहेका उनी मौका छोपेर भित्रैबाट पोखिए– “अब कुर्सी भनेको त चाहिने जो घरको सम्पत्ति पनि त होइन । के नै ठूलो कुरा हो र ! चुनाबाँ’ जनताले चाहिने जो भोट हालेकै हो । त्यत्रो भोट दिनेले कुर्सी किन्न अलिकति कर तिर्न सकिँदैन र ! यत्रो देश बनाउने भेनेर जानेले चाहिने जो जाबो एउटा कुर्सी भाँच्दा के महाभारत मान्नु पर्छ त । कुर्सी भाँचिएन भनेँ जनताले रोजगार कसरी पाम्’छन् त ! दाँतबाट पसिना चुहाएर हुँदैन है यस्ता काम्’मा । त्यसैले कुर्सी त राम्रै हुनुपर्छ है सर ! सरको कुरामा चाहिने जो म सहमत छु है लु ।”

कर्मचारी अब भने उठेर जान लाग्दै थिए तर सबैजसो उनका कुराबाट प्रभावित भइसकेको कुराले उनमा जोस नबढेको होइन । उभिएरै यत्तिका धेरै गफ भएपछि सिकर्मीले बस्न आग्रह गरे–

“सर, बस्नोस् न त्यो कुर्सीमा ! कतिबेर उभ्भिने !”

उनी अत्तालिएर भन्छन्, “नाइँ, म ‘नि सरकारी कर्मचारी हुँ । मेरो इज्जे’त गर्नु’स् । म यस्ता झारेझुरे कुर्चीमा बस्ने जस्तो लाग्यो ? अलिक चिल्लो कुर्ची दिनु’स् ।”
अब भने उनलाई बक्साएरै कुर्सीमा राखियो ।

“कुर्सी महिमाको रहस्य नबुझेकाहरूलाई यसको मूल्य यादै हुँदैन । यो बुकुर्सी मार्न मिल्ने, हान्न चाहँदा भकुन्डो जसरी हान्न मिल्ने चीज पनि त हो । लुते, लुम्रे अर्थात् बल नभइकन नेता होइन्छ र ! कुर्सी उठाएर बजार्न नसक्ने, टेबल पल्टाउन नसक्नेलाई जिताएर माथि पठाउँदा पनि कतै देश बन्छ र !” एकजना कालो टोपी लगाउनेले सहमतिमा विचार राखे ।

कुरा सत्य पनि त हो । आखिर, नेताले बोलेको कुरा मूल मन्त्र जस्तै लाग्छन् । उहाँहरूको हरेक काम अनुकरणीय हुन्छ । नयाँ पुस्ताले पनि सिक्दै, हस्तान्तरण गर्दै जान्छन् । आखिर पदमा पुग्न त गतिलो पनि त हुनुपर्छ । झारेझुरे दुब्ला मान्छेमा के कुर्सी उचालेर पछार्ने ल्याकत हुन्छ र !

कुर्सी अर्डर गर्न आएका कर्मचारीलाई पनि यत्तिकैमा निद्राले छोप्नै लागेछ क्यार । सिकर्मीचाहिँ उनका आँखाअघि नाचिरहेका प्रदेश पाँचको संसद भवनका दृश्यलाई अभैm व्याख्या गर्दै पुनः प्रसारण गरिरहेकै थिए । मानौँ, इन्द्रका अघि स्वर्गको बयान भइरहेको थियो । बिचरा कर्मचारी आफ्नो प्रस्तुति सक्नासाथ अरूका पालामा त भुसुक्कै निदाउन पो भ्याएछन् । नेपाली संस्कारलाई यिनले सिकर्मीको कारखनामा पनि पालना गरिछाडे ।

तपाईको प्रतिक्रिया