चार खेलाडीलाई उपचार खर्च प्रदान

काठमाडौँ / राष्ट्रिय खेलाडी कल्याणकारी कोषले चार खेलाडीलाई आज उपचार खर्च प्रदान गरेको छ । कोषले एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई कूल रु चार लाख सहयोग प्रदान गरेको हो । कोषले एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी स्व रवीनकुमार राईको परिवारलाई रु एक लाख सहयोग गरेको छ । सहयोग रकम राईकी धर्मपत्नी मञ्जु श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

अर्बुदरोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । यस्तै कोषले बास्केटबलकी सविता खड्कालाई रु एक लाख २५ हजार, जुडोका पूर्वखेलाडी पृथ्वी आलोकलाई रु एक लाख तथा कबड्डीकी मनीषा विष्टलाई रु ७५ हजार सहयोग गरेको छ । तीनै जना घुँडाको समस्याबाट पीडित छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उहाँहरुलाई सो रकमको चेक हस्तान्तरण गरे ।

समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष, २०६८ सालमा स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी दिए । कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया