मोरङमा कोरोना संक्रमित नाबालकको मृत्यु, मेनेन्जाइटिससँगै थपिएको थियो कोरोना संक्रमण

मोरङ / प्रदेश १ मा पहिलो पटक कोरोना भाइरस संक्रमणका कारण एक नाबालकको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ६ वर्षीय नाबालकको बिहीबार दिउँसो ४ बजे ज्यान गएको हो । प्रदेश १ मा उपचाररत संक्रमितमध्ये नाबालकको यो नै पहिलो मृत्यु हो ।

पासवान थरका नाबालकलाई असोज ८ गते कोरोना पुष्टि भएपछि भोलिपल्ट ९ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार सुरुमा नाबालकलाई असोज ६ गते विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो ।

लामखुट्टेको टोकाइबाट हुने मेनेन्जाइटिसको समस्याका कारण बेहोस बनेका उनलाई मेनेन्जाइटिसकै उपचारका लागि नर्सिङ होम भर्ना गरिएको थियो । तर नाबालकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि भने नर्सिङ होमबाट थप उपचारका लागि शिक्षण अस्पतालको आइसोलेनमा लगिएको जानकारी देवले दिए ।

उनका अनुसार नर्सिङ होममै भर्ना गर्दा मेनेन्जाइटिसका कारण नाबालक बेहोस थिए । त्यहाँमाथि अत्याधिक ज्वरो र शरीर काप्ने समस्या पनि थपिएको थियो । बेहोस अवस्थामै आइसोलेसनमा भर्ना गर्दा पनि ज्वरो आउने र शरीर काप्ने समस्या उस्तै थियो ।

‘मेनेन्जाइटिससँगै कोरोनाको संक्रमण पनि थपियो,’ देवले भने, ‘आइसोलेसनमा भर्ना गर्दै उपचार थालेर धेरै प्रयास गरिए पनि बचाउन सकिएन ।’ कलिलो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले एकै पटक दुईवटा जटिल रोगको संक्रमण हुँदा नाबालकको ज्यान गएको हुन सक्ने देवको भनाइ छ । उनले लगभग १० दिनअघि बेहोस बनेका नाबालकको बेहोस अवस्थामै मृत्यु भएको जानकारी दिए ।

अभिभावकको आर्थिक अवस्था कमजोर रहेका मृतक बालकको उपचारमा आइसोलेसनको बाहेक तीन लाख रुपैयाँ खर्च भएका थियो । अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले अभिभावकको आर्थिक अवस्था कमजोर भएका नाबालकको मृत्यु पनि भएपछि उपचारमा लागेको सबै खर्च मिनाहा गरेर शव व्यवस्थापनका लागि पठाइएको बताए । प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उपचाररतमध्ये नाबालकसहित मृत्यु हुनेको संख्या हालसम्म ७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया