सट्टाबाजी खेलाउँदै आएका तीन जना पक्राउ

विराटनगर / प्रहरीले जुवाजस्तै मानिने सट्टाबाजी खेलाउने तीन जना सट्टेबाजलाई मंगलबार राति विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुले इण्डियन प्रिमियर लिग (आइपीएल)लाई लिएर सट्टाबाजी खेलाउने गरेको प्रहरीले जनाएको छ । विराटनगरका सत्यजीत साह, जगदीश साह र बैजनाथ साहलाई आइपीएलमा सट्ट्ेबाजी गरिरहेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

पक्राउ परेका सत्यजीत र बैजनाथ विराटनगर महानगरपालिका–१५ र जगदीश साह विराटनगर– १७ का बासिन्दा हुन् । प्रहरीका अनुसार सत्यजीत सट्टेबाजीका नाइके हुन् । उनी खेल जित्ने हार्ने लगायतका विषयमा अनलाइनबाट पैसा लगाउने प्रमुख माध्यम रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको बताउँदै डीएसपी राईले सत्यजीतको कनेक्सन विदेशमासमेत रहेको बारे अनुसन्धान थालिएको जानकारी दिए ।



राईका अनुसार पक्राउ परेकाहरुले अनलाइनमार्फत युएईमा जारी आइपीएलका खेलहरुमा जित हार, चौका छक्का, विकेट, लगायतका स–साना कुरामा मोटो रकम सट्टेबाजी गर्दै आएका थिए । प्रहरीले सत्यजीतको साथबाट ६० हजार नेपाली रुपैयाँ, एक थान ल्यापटप, जगदीश साहको साथबाट आरवान मोटरसाइकल, एउटा मोबाइल र बैजनाथ साहबाट एउटा मोबाइल बरामद गरेको छ । जुवा वा सट्टेबाजी ऐन अन्तर्गत कारबाही अघि बढाउन तीनै जनाविरुद्ध बुधबार म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया