विराटनगरको कोभिड अस्पतालमा मोरङको जहदाका कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर / मोरङको जहदा घर भएका ६० वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । जहदा गाउँपालिका–६ का पुरुषको उपचारका क्रममा बुधबार बिहान ४ बजेतिर मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । उनलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याएको खुलेको सिग्देलको भनाइ छ ।

आठ दिनदेखि भेन्टिलेटरको माध्यमबाट उपचार जारी राखेर धेरै पटक सीटीआर गर्दै कृतिम श्वासप्रश्वास दिइए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको डा. सिग्देलको भनाइ छ । उनका अनुसार एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वासमा धेरै समस्या थियो । कोशी कोभिड अस्पतालमा हालसम्म ज्यान गुमाएका संक्रमितमध्ये पछिल्लो पटक मृत्यु भएको पुरुषको तौल सबैभन्दा धेरै रहेको सिग्देलको भनाइ छ ।

उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । संक्रमण पुष्टि भइसकेपछि पछिल्लो समय श्वास फेर्न गाह्रो हुने समस्या पनि थपिएको उनको भनाइ छ । सिग्देलले अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जनाए । हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६८ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ४९ पुरुष छन् ।

तपाईको प्रतिक्रिया