डायलाईसिसको क्रममा मृत्यु भएका राजकुमार राईको परिवारलाई सिङ्गापुर प्रहरीको पहलमा १ लाख ३८ हजार सहयोग

धरान । दुवै मृगौला खराब भई उपचारको क्रममा विपी प्रतिष्ठान धरानमा मृत्यु भएका इटहरीका राजकुमार राईको परिवारलाई सिङ्गापुर पुलिस फोर्समा कार्यरत प्रहरीहरुको पहलमा एक लाख ३८ हजार नौ सय तीन रुपैया सहयोग गरिएको छ ।

मधुमेह र उच्च रक्तचापका विरामी राईलाई औषधि सेवनका क्रममा दुवै मृगौलामा खरावी देखिएपछि विपी प्रतिष्ठानमा डायलाईसिस शुरु गरिएको थियो । आर्थिक अवस्था नाजुक भएको भन्दै उनका आफन्तले उनको सफल उपचार गरी बचाउन आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेका थिए । अभियान जारी रहेकै अवस्थामा गत भदौमा राईको निधन भएको थियो । भोजपुर हतुवागढी घर भएका स्व. राई केही वर्षदेखि इटहरीमा बसोवास गरिरहेका थिए ।

विश्व सरोकार समाजका संस्थापक तथा सिङ्गापुर प्रहरीमा कार्यरत रामप्रसाद राई र राजकुमार राईले सिङ्गापुर सहित विभिन्न देशमा रहेका दाताहरुसमक्ष सहयोगको पहल गरेका थिए । राई जिवित रहेकै अवस्थामा शुरु गरिएको अभियानबाट सङ्कलित रकम उनका परिवारलाई हस्तान्तरण गरिएको हो । दाताहरुको तर्फबाट पुर्व सिङ्गापुर प्रहरी जीवन खाहोङ राईको टोलीले उक्त रकम स्व. राईकी श्रीमति रत्ना राईलाई इटहरीस्थित निवासमै पुगी हस्तान्तरण गरेको थियो ।

सिङ्गापुर प्रहरी निरिक्षक तेजेन्द्र घर्तिमगर, सिङ्गापुर प्रहरी प्रकाश राई सोरोङ, बैदेशिक रोजगारीका क्रममा हाल साइप्रसमा कार्यरत सरतकुमारी राई, मैनाकला राई, सविता राई, सविता घिसिङ, सुर्यकुमारी राई, तिरन्जीत राई, काजिमान राई र हाल मलेसियामा कार्यरत श्रीप्रसाद राई, प्रदिप कुमार राईले स्व. राई परिवारलाई सहयोग गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया