प्याब्सनका मोरङ जिल्ला अध्यक्ष तथा सिद्वार्थ सेकेन्डरी स्कूल सुन्दरहरैंचा १० का प्रिन्सिपल अर्जुन वस्नेतले अन्य व्यापार व्यावसायको तुलनामा कोरोना कहरका कारण शिक्षा क्षेत्र झनै बढि प्रभावित भएकोले अब विद्यालय संचालनमा आउँनु पर्ने उल्लेख गरेका छन् ।
जिल्ला अध्यक्ष वस्नेतले स्थानीय पालिका तथा प्रदेश सरकारले अब विद्यालयहरु कसरी संचालन गर्न सकिन्छ भन्ने बारेमा गम्भीर ध्यान राखेर शिक्षाको विकासका लागि पहल गर्न अति आवश्यक भएको बताए । उनले विद्यालयलाई भौतिक रुपमा संचालन गर्नको लागि जोर विजोर प्रणाली लागू गरेर अनलाइन कक्षालाई समेत व्यावस्थित र प्रभावकारी बनाउँन जरुरी रहेको उल्लेख गरे । वस्नेतले टोलटोलका विद्यार्थीहरुलाई अलग अलग राखेर दुरी कायम गरि सुरक्षित साथ सिकाइ सहजिकरण संचालन गर्न सकिने भएकोले त्यसका लागि स्थानीय पालिकाले समेत उचित ध्यान दिएर अप्ठ्यारो यो समयको घडिमा साथ सहयोग गरोस भन्न चाहेको बताए । उनले कोरोना कहरको यो समयमा सबै राजनीति दल , समाजसेवी , समाजिक व्यातित्वहरुले सकारात्मक भूमिका निभाउँन आवश्यक रहेको बताउँदै विद्यालयले पनि कसरी उचित र स्वास्थ्य मापदण्ड अपनाएर सचेत रहने साथै कसरी अघि बढ्ने भन्ने कुराको ख्याल राख्न जरुरी भएको उल्लेख गरे ।
वस्नेतले बिस्तारै निश्चित विन्दुमा पुगेर कोरोना ओरालो लाग्ने सम्भावना भएकोले जनजिवनलाई सुरक्षित राखेर शिक्षा क्षेत्रको कार्यलाई अब अघि बढाउँन जरुरी भएको सुनाए। अर्को प्रसङ्गमा कुराकानी गर्दै उनले यो समयको अप्ठ्यारो घडीमा शिक्षक ,विद्यार्थी तथा अभिभावक बिचको त्रिपक्षीय सम्बन्ध झनै सकारात्मक तथा बलियो हुन आवश्यक भएको बताए । उनले विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका अनुसार यसैलाई ध्यानमा राखेर शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उल्लेख गरे । वस्नेतले विद्यार्थीहरुले कुनै डर त्रास विना ,सुरक्षित भएर रहदै ढुक्क भएर आफ्नो पढाइ लेखाइ तथा घरमै भए पनि अतिरिक्त क्रियाकलापका साथै व्यवहारिक ज्ञानलाइ जोड दिन अनुरोध समेत गरेका छन् । कोरोना कहरको अवस्थामा प्याब्सनका मोरङ जिल्ला अध्यक्ष तथा सिद्वार्थ सेकेन्डरी स्कूलका प्रिन्सिपल वस्नेतसँग शिक्षा क्षेत्रको बारेमा गरिएको समसामयिक भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।