ज्यानै लिने कसेनीको कहालीलाग्दो सामूहिक आक्रमण घटनामा १९ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

मोरङ / मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा व्यक्तिको हत्या गरिएको कहालीलाग्दो सामूहिक आक्रमण घटनामा १९ जनालाई प्रतिवादी बनाइएको छ ।
व्यक्तिको ज्यानै जाने गरी भएको आक्रमणमा प्रतिवादीविरुद्ध विरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । अदालतका सूचना अधिकारी युवराज पौडेलले जिल्ला सरकारी वकिल कार्यालयले घटनाका सम्बन्धमा अभियोगपत्र तयार पारेर मुद्दा दर्ता गरेको जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार गर्दै १९ जनालाई प्रतिवादी बनाएर मुद्दा अदालत लगेको हो ।

लोहन्द्रा खोलामा लगाइएको बाँसको अस्थायी पुलबाट तर्ने मोटरसाइकलसँग पुल बनाएका युवाले पैसा लिने गरेको विषयलाई लिएर सुरु भएको विवाद गत भदौ १२ गते सामूहिक आक्रमण र हत्याको घटनामा परिणत भएको थियो । पुल बनाएका युवाहरुले मोटरसाइकलसँग २५ रुपैयाँ पैसा उठाउँदै आएका थिए ।

बन्चरो, खुकुरी लगायत घरेलु हतियारसहित एउटा समूहले आक्रमण गर्दा त्यतिबेला स्थानीय ४० वर्षीय चन्द्रकुमार राईको ज्यान गएको हो । घटनामा घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आक्रमणमा परेकै दिन मृत्यु भयो । उनी युवाहरुबीचको झगडा छुट्याउन गएका थिए । त्यही समूहले आक्रमण गर्दा चन्द्रकुमारका दाई ४२ वर्षीय सइकुमार राई, भाइ ३२ वर्षीय समुन्द्र र भतिज (सइकुमारका छोरा) १६ वर्षीय गौरव राई घाइते भए ।

चन्द्रकुमारमाथि आक्रमण भइरहेको देखेपछि उनीहरु तीन जना घटनास्थलमा पुगेका थिए । घाइतेहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्थानीय दिनेश भनिने घनेन्द्र श्रेष्ठलाई कुटपिट गरिरहेको देखेर सम्झाउन पुगेका चन्द्रकुमार र उनको परिवारकै अरु तीन जनामाथि उक्त समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न मोरङको ग्रामथान गाउँपालिका– ६ का ३४ वर्षीय जितेन्द्रकुमार चौधरी, ३३ वर्षीय वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का ३१ वर्षीय दीपेन भनिने दीपेन्द्रकुमार चौधरी, बेलबारी नगरपालिका–६ का ३८ वर्षीय विशालकुमार खवास (गच्छदार), बेलबारी– ५ का ३२ वर्षीय राजेन भनिने राजेन्द्र राई (थुलुङ), २० वर्षीय यानव थुलुङ राई र ३१ वर्षीय विनयकुमार सरदार पक्राउ परिसकेका छन् ।

घटनामा संलग्न १२ जना अझै फरार छन् । पाँच जना घटना भएकै दिन तथा थुलुङ र सरदारलाई प्रहरीले पछि पक्राउ गरेको हो । घटनापछि ग्रामथान– २ का २७ वर्षीय कृष्णकुमार चौधरी, ७ का २५ वर्षीय प्रभात चौधरी, ६ का ३५ वर्षीय अनोज भनिने अनोदकुमार माझी, ३४ वर्षीय बलराम चौधरी, ४ का ३७ वर्षीय ओम धामी, ५ का ३४ वर्षीय दिनेश चौधरी माझी, ७ का २५ वर्षीय प्रेम चौधरी फरार छन् ।

त्यस्तै फरार हुने अन्यमा मोरङकै सुन्दरहरैँचा नगरपालिका– २ का २५ वर्षीय अशोक खवास, ११ का ३३ वर्षीय शम्भु भनिने दिनेश मास्के, २५ वर्षीय राजिन राई, २ का ३५ वर्षीय कचालु भनिने गीतार खवास, १ का २४ वर्षीय नलिन खवास छन् । फरार रहेका र पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दाको प्रतिवादी बनाइएको छ । प्रहरीले विनय सरदार र जितेन्द्रकुमार चौधरी घटनाका मुख्य नाइके रहेको जनाएको छ । ज्यानै लिने सामूहिक आक्रमणपछि फरार रहेकाहरुको भने खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

वकिल कार्यालयले मुद्दा दर्ता गरेपछि अदालतमा थुनछेक बहस सुरु भएको छ । सूचना अधिकारी पौडेलले बादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएपछि अदालतबाट मुद्दाको आदेश आउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया