विराटनगर जुट मिल्सको पर्खाल भत्किएर महिलाको मृत्यु

विराटनगर / जीर्ण र कमजोर बन्दै गएको विराटनगर जुट मिल्सको पर्खाल (गाह्रो) भत्किएर किच्दा बिहीबार दिउँसो एक महिलाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै जुट मिल्सको हड्ताली हाटभित्र रहेको मजदुर लाइन क्वाटरको उत्तरतर्फको पर्खाल भत्किएर किच्दा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया समेरुन निसाको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार जुट मिल्स परिषरभित्र धेरै वर्ष पहिले बनाइएको पुरानो भवनको पर्खाल भत्किँदा घटना भएको हो ।

स्थानीय बासिन्दाका अनुसार क्वाटर भवन अतिनै जीर्ण र कमजोर भए पनि मर्मत सम्भारका लागि मिल्स व्यवस्थापनले ध्यान दिएको थिएन । घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको गाह्रो लगाएर बनाइएको पर्खाल लडेर किचेको डीएसपी राईले बताए । बिहान १० बजे घटनामा परेर महिला गम्भीर घाइते भएकी थिइन् ।

घाइतेको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।
क्वाटर भवन जीर्ण हुँदा पनि मर्मत सम्भारका लागि चासो नदिनु मिल्स व्यवस्थापको गम्भीर लापरबाही रहेको स्थानीय बासिन्दाको गुनासो छ । उनीहरुले व्यवस्थापनका कारण मानवीय क्षतिनै हुने घटना निम्तिएकोभन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग उनीहरुले राखेका छन् ।

यसअघि काम गर्ने मजदुरलाई राख्न क्वाटर प्रयोग गरिँदै आएको भए पनि अहिले मिल्स बन्द भएका कारण मजदुरहरुलाई भने राखिएको छैन । अन्तिम पटक २०७५ साल चैतमा परीक्षण उत्पादन गरिएको मिल्स त्यसयता बन्द छ । विक्रम संवत १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स मुलुककै जेठो उद्योग हो । मिल्स ६७ बिघा क्षेत्रफलमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया