ओमानबाट छैटौँ उडान मार्फत १७४ नेपाली स्वदेश फर्किए

दोहा / ओमानमा कोभिड-१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूतावासमा नाम टिपाएका मध्येबाट आज छैटौँ उडान मार्फत १७४ नेपाली स्वदेश फर्किएका छन् ।

ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको OV-427 को उडानमा ४१ महिलासहित १३३ जना पुरूष नेपाल फर्किएका छन्। यसअघि सलाम एअरको पाचौ उडान मार्फत ८३० नेपाली स्वदेश फर्किसकेका छन् ।

आज छैटौँ उडान मार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पि सि आर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ । विमानस्थलमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल सम्पूर्ण नेपालीहरूलाई स्वदेश फिर्तिको लागि सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासमा द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

यात्रामा सहभागी सम्पूर्ण नेपालीहरूले दूतवासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा राजदूत तथा समस्त दूतावासको कार्यको प्रशंसा गर्दै दूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया