मुख्यमन्त्री राईले गरेको यातायात व्यवसायीसँग छलफल

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग मंगलबार छलफल गरेका छन् । असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरे । उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने बताए । मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरे ।

उनले माक्स, स्यानीटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन आग्रह गरेका छन् । यात्रुहरुको सुरक्षामा विशेष ध्यान दिन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे । यात्रुहरुलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीहरुले पनि ध्यान दिनु पर्ने कुरामा मुख्यमन्त्री राईले जोड दिएका हुन् । लामो दूरीका यात्रुहरुको विवरण राख्न समेत मुख्यमन्त्री राईले जोड दिएका छन् ।

छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरु सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीहरुका साथै यातायात क्षेत्रका मजदुर संगठनका प्रतिनिधिहरुकोसमेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया