“ जितिया पावैन बर भारी, धिया पुताके ठोइक सुताबे आपना लेलेक भोइर थारी”

नेपाल धर्म निरपेक्ष चार बर्ण छतिस जातको साझा फुलबारी हो । यहाँ बसोबास गर्ने एक सय पचिस जातले एक अर्काको रितिरिवाज, धर्म, संस्कृति, परम्परा र मान्यतालाई कदर गर्दै नेपालीको पहिचान बिश्व मै उच्च बनाएर एक आपसमा मिलेर बसेका छन् ।

देश संघियतामा प्रवेश गरे संगै स्थानीय जनताको पहिचान संस्कृति र परम्परा झन् मजबुत भएर जोडिएर आउछ । संस्कृति र परम्पराले जातीय अस्तित्वलाई संरक्षणको साथै जिबन्त राखेको हुन्छ । यसले जात जातिको गौरब र इतिहास जोडिदिएको हुन्छ । एक जातले अर्को जातको संस्कृतिलाई स्विकार गर्नु सक्नु नै नेपालीको बिषेशता हो साथै नेपाल र नेपालीपनको पहिचान पनि हो । जितिया पर्ब राष्टिय पर्वको रुपमा अगाडी बढिरहदा स्थानीय सरकारले बर्तालुहरुको लागि बिदा सुबिधा दिनु राज्यले सम्मान गरेको बुझिन्छ ।

थारु समुदायको लागि जितिया ठुलो र माहान पर्ब हो । थारु र मिथिला अन्चलको मधेसी महिलाहरुले मनाउने बिभिन्न चाड पर्ब मध्ये जितिया पर्बलाई बिशेष महत्व दिई हर्सोलासको साथ बिबाहित महिलालेकाे लागि माहान र कठोर बर्तको रुपमा चिनिन्छ । बर्त पनि उचित साइतमा मात्र सुरु गर्नु पर्छ । यो साइतलाई सुइध लागेको भनिन्छ । पहिलोपटक जितियाको व्रत बस्नुलाई जितिया उठाउनु वा जितिया पाथ्नु भनिन्छ । सनिबारको राति बिहान ओटघन खाएर आइतबार निराहार व्रत बसेर सोमबार व्रत तोड्ने तिथि मिलेको जितिया पावैनको तिथिलाई सुइध लाग्नु भनिन्छ । सुइध लागेको तिथिमा सुरु गरेको जितियालाइ खर जितिया पनि भनिन्छ । खर जितियाले छोरा छोरीलाइ भबितब्य वा दुर्घटनाबाट पनि बचाउछ भन्ने बिस्वाश रहेको पाइन्छ ।

बिबाहित दिदि बैनीलाइ दाजु वा भाइहरु उनको घर जानु पर्छ । माइतबाट लिन जानेलाई परेवाको मासु र टाउको खुवाउने चलनले दिदि भाइको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्छ । फर्किदा संगै फर्किनु पर्छ भन्ने मान्यता पनि छ । चेली माइत आउदा तेलमा पकाएको तेलपौर रोटि, दहि, पुरानो धानको च्युरा ल्याउने गर्छन् । कोसेली तयारीमा सासुको भूमिकाले सासु र बुहारीको सम्बन्ध लाई आमा छोरीको सम्बन्ध जस्तो बलियो बनाउन सहयोग गर्छ । चेलीले माईतमा ल्याएको कोसेलिलाई छरछिमेकमा पनि बाडने गर्दछ यसले सामाजिक आत्मियता बढाउछ । बर्ष दिनको पर्वमा चेली माइत आउदा खुब खुसि हुन्छन । उनको पुरानो साथीहरुको भेटघाटले झन् उमंग थपिदिन्छ । बाल्यकालको कुराहरु गर्दै दिन बितेको पत्तै हुदैन । साथीबीच भेटघाट र स्नेहले साथित्वलाई बचाई राखन सहयोग गर्दछ । दौतरी कालका यादहरुको भलाकुसारी र स्मरणले अनुहारमा खुसीको चमक ल्याइदिन्छ । बच्चाहरु पनि मामा घर भनि खुब रमाइलो गर्छन । नाती नातिनाहरुको खुसि देखि हजुरआमा र हजुरबुवा पनि खुब खुसि हुन्छन ।

जितिया पर्वको महत्वपूर्ण क्षण हो ओटघन । ओटघन तयारीको लागि मध्यरातबाट सुरु गर्ने गर्छन । ओटघन खानको लागि आमा दिदि बैनीहरु रातिनै उठछन । बिभिन्न मिठा मिठा परिकार बनाउछन माछा फ्राई परवल, आलु, भिन्डी, लौकाको तरुवा, ओलको सब्जी र कोदोको रोटी पकाउछन् । ओटघनमा माछा अनिवार्य खानैपर्छ भन्ने बिस्वास रहेको छ । बिभिन्न परिकार पकाउदा स्वाभाविक रुपमा भाडाकुडाहरु आवाज आउँन सक्छ । भाडाकुडाहरु आउने आवाजले स-साना नानिको निन्द्रा खुल्छ अनि आमाले गित गाउदै फेरी सुताउने कोसिस गर्नेगरिन्छ । त्यसैले त भनिन्छ “ जितिया पावैन बर भारी,धिया पुताके ठोइक सुताबे आपना लेलेक भोइर थारी” । ओटघन खानकोलागि बनाएका बिभिन्न मिठा-मीठा परिकारहरु भाले बास्नु भन्दा अगाडी नै खाइसक्नु पर्छ । ओटघनमा माछा अनिबार्य पकाउनु पर्छ ।

बर्तालु महिलाले यसपछिको करिब चौबिस घण्टा भन्दा बढी दिनरात मुखमा पानी समेत नहालिइकन ब्रत बस्छन् । अती आवशयक परेको खण्डमा जलहार वा फल्हार गर्न सकिन्छ भन्ने आधुनिक सोचको बिकाश भएको पाइन्छ । जितियाको व्रत विशेषगरी विवाहित महिलाहरु बस्ने भएकाेले यसको प्रमुख उदेश्य आफ्ना श्रीमान् र छोराछोरीको सुस्वास्थ्य र दीर्घायुका लागि कामना गर्नु हो ।

बर्त बसेको दिन जितमाहान देउताको कथा सुन्ने र पुजा गर्नेगरिन्छ । ठाउँ अनुसार यो दिन सामुहिक पुजा पनि गर्ने चलन बढ्दै छ । उदयपुरको देउरी, बगाहा, सिवाई गैरुणमा सास्कृति कार्यक्रम सहितको बर्तालुको लागि जितमहानको कथा सुनाउदै आएको छ । बर्तालुहरु राम्रो पहिरनमा सजिएर आउछन, सिन्दुर, पोते र गरगहनाले सजिएर दिदि बैनीहरुको सुन्दरतामा निखार आइरहेको देखिन्छ ।

गाउँका प्रमुखले जितिया कथा सुनाउनु हुन्छ । पूजा गर्न जादा पाँचवटा केरा, जितामाहनको फूल, पान, धानको मोइर २ वटा, सिन्दुर बौटऱा, घिरौलाको फुल पात, सुपारी, अक्षता, तुलसी, दिया बाती कपडाको गुडिया, केराको थम्बाको घोडा र कुसको तीर, बिशमान, केराको पातको धनुस बनाइ डलियामा राखनु पर्छ | पुजा गर्ने ठाउमा सानो पोखरी जस्तो बनाएर बिचमा जितमहानको मुर्ति राखेको हुन्छ | दिदि-बैनी लगाएत गाउँका अन्य सबै महिला दिदी-बैनीहरु पनि जितमहानको कथा सुन्ने गर्दछ । व्रतालु पोखरीको डिलमा लहरै बसेर कथा सुनिरहेका हुन्छन । कथा जतिपटक टुंगिन्छ त्यतिपटक पुजा सामग्री चढाएर पोखरीको डिलमा पूजा गर्नु पर्छ । कथा सकिएपछि केराको भालैरको घोडा पोखरीको डिलमा राख्नु पर्छ । दाजुभाइले केराको भालैरको घोडामा चढेर आफ्ना दिदीबहिनीलाई धनुषले हान्नु पर्छ अनि पोखरी पार गरिदिनु पर्छ । जितमाहनको कथा सकेपछी आफनो गाउमै सामुहिक भेलाभई रमाइलो गर्ने चलन पनि छ । ठाउ अनुसार मनोरन्जनको लागि मनोरन्जनात्मक कार्यहरु गर्ने गर्दछ ।

दिनरात निराहार बर्त बसेपछि भोलि पल्ट बिहानै उठेर नुहाउनु पर्छ । नुहाउने बेला सकभर साबुन र स्याम्पुले कपाल धुनु हुँदैन भन्ने मान्यता छ । भिजेको माटो र पिनाले कपाल धुनु पर्छ यसले आधुनिक भन्दा प्राकृतिक जिबन सैली अपनाउनु पर्छ भन्ने संदेश दिन्छ । नुहाएर नयाँ लुगा लगाई तयारी हुनु पर्छ । सुर्य भगवानलाई पुजा गर्नको लागि भुइमा गोबर पानीले निपनु पर्छ । निपेको सफा ठाउमा दुई–दुईवटा घिरौँलाको पात राखिन्छ घिरौँलाको पातमा दही, चिउरा, केरा, गुड, खैरमाटो, घिरौँलाको फूल र धुप बालेर सूर्य देवताको पूजा गर्नु पर्छ । पूजागर्दै आफ्नो श्रीमान् र छोराछोरीको दीर्घायु र सुस्वास्थ्यको कामना गरिन्छ । पुजा गर्ने बिधि र प्रक्रिया ठाउँ अनुसार फरक हुनसक्छ तर यसको उदेश्य श्रीमान् र छोराछोरीको दीर्घायु र सुस्वास्थ्यको कामना गर्नु नै हो ।

यो दिन पनि आफ्नो गछ्य अनुसारको मिठा-मिठा परिकार बनाएर खाने चलन छ तर मासु अनिबार्य हुनुपर्छ । हुने ले खसी,बंगुर घरमै काट्छन । आफन्त छरछिमेकीलाइ पनि यो दिन बोलाइ खुवाउने चलन रहेको छ यसले सामाजिक मित्रवतलाइ कायम राखिरहन्छ । छोरी चेलीको बिदाइमा अनिबार्य नयाँ साडी र अन्य लत्ता कपडा दिनु पर्ने चलन रहेको छ ।

धार्मिक, संस्कृतिको रुपमा अलग पहिचान बनाएको महान पर्ब जितियाको आफनै महत्व छ । यसलाई राज्यले राष्टिय सम्पतिको र पहिचानको रुपमा संरक्षण गर्नु आबश्यक छ । सबै मिलि यसको पैरवी गरौ राष्टिय पर्वको रुपमा स्वीकार गरौ । आफनो सन्तान र परिवारको खुसी, सुस्वस्थ्य ,दिर्घायुको लागि गरिने पर्वमा छोरा छोरीले पनि आफ्नो दाइत्व सम्झिनु पर्छ । जितिया पर्वले पितृत्व र मातृत्व नाता सम्बन्धलाई बलियो बनाई आफन्तबीच आत्मियता निभाउन प्रोरित गर्दछ । आफ्नो खुसि र क्षमताले जे दिन्छ त्यसलाई छोरी चेलीले स्वीकार गरि बुद्धिमानी चेलीको नमुना बन्नुपर्छ । खुसि र दुख सबैमा साथ् दिनु पर्छ । यसपालिको कोरोना माहामारीले सामुहिक क्रियाकलापमा असर पुर्याए पनी आफनै घरमा बसी संस्कृतीलाइ जोगाउनु सबैको दाइत्व हो । महान जितिया पर्वको उपलक्ष्यमा सबैमा शुख शान्ति र सुस्वास्थ्यको मंगगलमय कामना गर्दछु ।

लेखक सुर्य नारायण चौधरी, कोशी हेल्थ एण्ड साइन्स क्याम्पसका प्राध्यापक हुन ।

तपाईको प्रतिक्रिया