अचानक सबै खसी मरेपछि तुहियाे कटुवालकाे घर बनाउने सपना

मोरङ / मोरङको उर्लाबारी नगरपालिका–९ भोटेपुलमा टेकबहादुर कटुवाल नौ जनाको परिवारसहित बस्छन् । भोजपुरबाट २०७३ सालमा तराई झरेका उनी अर्काको घरमा बस्दै घरधनीकै खेतबारी अधिँया कमाएर परिवारको जीविका चलाउँछन् । खेतीबाट भएको कमाइले परिवार धान्न निक्कै मुस्किल छ । ‘ज्यालामजदुरी पनि गर्छु,’ कटुवालले भने, ‘आफ्नो थातथलो छाडेर तराई झरेपछि दुःखै दुःखले घेरिएको छु ।’

कटुवालले पालेका पाँचवटा खसी शुक्रबार बिहान एक्कासि मरेपछि गरिबीको चपेटामा पिल्सिरहेका उनलाई अर्को विपत्ति आइलागेको छ । सबै खसी २५ किलोभन्दा माथिका रहेको स्थानीयले बताए । स्थानीय स्तरमा उल्टो झार भनेर चिनिने काँडा भएको घाँस कटुवालले बिहीबार साँझ सबै खसीबाख्रालाई खुवाएका थिए । त्यसपछि पाँचवटा खसी शुक्रबार बिहान ८ बजेतिर मरेका हुन् ।

बाँधेको ठाउँमा पेट फुलेर डम्म अवस्थामा देखिएका खसी एक्कैछिनमा फिँज र ¥याल निकाल्दै भकाभक मरेको उनले सुनाए । बिरामी अवस्थामा रहेका दुईवटा माउ बाख्रा मर्ने अवस्थामा पुगेका छन् । ‘मैले नचिन्दा छिमेकीले उखेलेर फ्यालेको झार घाँस हुन्छ भन्दै ल्याएर खुवाएको थिएँ,’ कटुवालले भने, ‘बिहान एकपछि अर्को गर्दै पाँचवटा खसी मरेपछि उक्त झार घास नभई विष रहेछ भन्ने थाहा भयो ।’

ज्यालामजदुरी गरेर कमाएको पैसाले साना पाठा किनेर हुर्काउँदै बनाएका खसी सबै मरेपछि आफ्ना भविष्यका योजना चकनाचुर भएको गुनासो उनले गरे । सबै खसी मारेको सुनेर वरपरबाट भेलाजम्मा भएकाहरुलाई उनी रुँदै आफ्ना बिलौना सुनाइरहेका थिए । चाउरी परेको अनुहार र पुराना एवं ठाउँठाउँमा फाटेका मैला कपडा लगाएका उनले आफ्ना पीडा र दुःख सबै खोले ।

‘ठूलो परिवार लिएर अर्काको घरमा बसेको लामै समय भयो । तिनै खसी बेचेर सानो कटेरो (घर) बनाउनु प¥यो भन्ने सोंच बनाएको थिएँ,’ आँखाबाट आँसु झार्दै उनले भने, ‘तर घर बनाउने सपना सबै तुहियो । चाडवाड पनि नजिकिँदै गरेकाले खसी बेचेर अलिअलि घर खर्च पनि चलाउन हुन्छ भन्ने लागेको थियो ।’ कटुवालले लामो समयदेखि भइरहेको ‘लकडाउन’ले आर्थिक अभाव भएका बेला झन् ठूलो तनाव थपिएको बताए ।

स्थानीय अगुवा लोलिम पोमुले दुःख गरेर हुर्काएका खसी सबै मरेपछि गरिब कृषकलाई पीडामाथि पीडा थपिएको बताए । ‘खसी बेचेर आएको पैसाले चाडपर्व टार्ने र नयाँ घर बनाउने योजना रहेछ,’ उनले भने, ‘तर एकै पटक यति ठूलो क्षति भएपछि सबै सपना अधुरै रहे । नयाँ घरमा बस्ने सपनानै तुहियो ।’

पोमुले पारिवारिक आर्थिक अवस्था कमजोर भएका कृषकलाई सहयोग गर्न नगरपालिकालाई आग्रह गरिएको सुनाए । ‘गरिब किसानमाथि परेको बज्रपात सहन नसकेर हामी छरछिमेकी सकेजति सहयोग गर्नु पर्छ भनेर राहत संकलनमा जुटेका छौं,’ उनले भने, ‘जति सक्छौं उठाएर सहयोग गरिहाल्छौं ।’ पोमुकै पहलमा नगरपालिकाको पशु सेवा शाखाको टोली पुगेर घटनाको स्थलगत निरीक्षण गरेको छ ।

घटनास्थलमा पुगेका शाखा प्रमुख विष्णुप्रसाद भट्टराईले विषालु झार खाएकै कारण खसी मरेको बताए । ‘नचिनेर विषालु झारलाई घाँस भन्दै खुवाएको पाइयो,’ उनले भने, ‘पाँचवटा खसी मर्दा एक लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ ।’ विषालु झार खाएर मरेका कारण सबै खसी खाल्डो खनेर पुरिएको भट्टराईले बताए । उनले खसी पाल्ने व्यक्ति एकदमनै गरिब कृषक रहेकाले क्षतिपूर्तिका लागि पहल भइरहेको जानकारी दिए ।

उल्टो काँडा हुने झार विषालु हुनाले खुवाइयो भने पशुहरु मर्ने र खुवाउन नहुने सुझाव भट्टराईले दिएका छन् । स्थानीय बासिन्दाले यो झार रतुवा तथा मावा खोला आसपासमा बढी मात्रामा पाइने गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया