विराटनगर / विराटनगरमा ३ स्थित एक वृद्धाको घरमा छरछिमेकी जान नमान्दा दाहसंस्कार हुन सकेको छैन । परिवारमा कोरोना संक्रमण पुष्टि भए पश्चात छरछिमेकी घरमा पस्न नमान्दा ८७ वर्षीया वृद्धाकाे अन्त्येष्टि हुन नसकेकाे हाे । कोरोना पुष्टि भए संगै ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् भने बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिको रिपोर्ट पोजेटिभ आएपछि वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि छरछिमेकी घरमा पसेर अन्त्येष्टि गर्न लैजान शव उठाउनलाई डराइरहेको स्थानीयले बताए । मृत्यु भएकी वृद्धामा पनि ज्वरो आउने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानिय बताउँछन् ।
वृद्धाको नियमित स्याहारसुधार गर्नेसँगै मृत्यु भएपछि रातभर रुँघेर बुहारी र नाति बसेका थिए । वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि विराटनगर महानगरपालिकाले शवको दाहसंस्कार गर्न परिवारलाई अनुमति दिएता पनि गर्मीका कारण सडेर शव गन्हाउन सक्ने अवस्था आइसकेकाे वडाअध्यक्ष विनोद बस्नेत बताउछन् । बस्नेतका अनुसार परिवारका अन्य सदस्य संक्रमित भएका कारण छिमेकीहरु घरमा पसेर शव उठाउन डराएको बताए । के गर्ने भन्ने बारे हामी सल्लाह गरेर निर्णय लिने बस्नेत बताउछन् ।
कोरोना पोजेटिभ देखिएका मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइँदै आएको छ । तर मृतकका छोरा, बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएपछि शव व्यवस्थापनमा समस्या भइरहेको बस्नेतको भनाइ छ ।