कोरोना संक्रमणका कारण विराटनगरमा प्राधिकरणका इलेक्ट्रिसियनको मृत्यु

विराटनगर / विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका इलेक्ट्रिसियन एक पुरुषको कोरोना भाइरसको संक्रमणका कारण बुधबार दिउँसो मृत्यु भएको छ । प्राधिकरणका प्राविधिक कर्मचारी विराटनगर महानगरपालिका–३ घर भएका ५७ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दिउँसो ४ बजे मृत्यु भएको हो । केन्द्रका प्रमुख बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलकाअनुसार कोरोना रिपोर्ट पोजेटिभ आएर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि सोमबार आइसोलेसनमा भर्ना गरिएको थियो ।

शव व्यवस्थापन गर्न नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाउने तयारी भइरहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या थपिँदै गएपछि ती पुरुषलाई सोमबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लैजान खोजिएको थियो । तर संक्रमितले भरिएका कारण बेड खाली नभएको भन्दै प्रतिष्ठानले बिरामी नपठाउन भनेपछि कोशीमै उनको उपचार भइरहेको थियो ।

कोशीको कोभिड अस्पतालमा लक्षण नभएका संक्रमितको मात्रै उपचार हुँदै आएको छ । धरानमा भने कडा लक्षण देखिएका संक्रमितको उपचार गर्ने भेन्टिलेटरसहितको लेभल थ्री अस्पताल सञ्चालनमा छ । विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगर महानगरपालिकामा मात्रै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या पाँच पुगेको छ । यस अघि कोरोना संक्रमित विराटनगर– ९ मा दुई, विराटनगर– ५ र १० का एक÷एक जना पुरुषको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया