बलात्कार पीडित भनिएकी महिलाका विरुद्ध गाउँलेले दिए उजुरी

माेरङ / विराटनगर महानगरपालिका–४ का स्थानीय बासिन्दाले बलात्कार पीडित भनिएकी एक महिलाबाट आफूहरु असुरक्षित रहेको भन्दै उजुरी दिएका छन् । स्थानीय १९ परिवारले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

महिलाका कारण गाउँका युवाहरु जोखिममा परेको भन्दै गाउँलेले शान्ति सुरक्षाको माग गर्दै प्रशासनमा साउन १५ गते उजुरी दिएका हुन् । गलत मुद्दा लगाएर ती महिलाले सबैलाई फसाउने नीयतका कारण आफ्ना छोरा नाति, र भाई–भतिजा असुरक्षित भएको भन्दै गाउँनै असुरक्षित बनेपछि शान्ति सुरक्षाको माग गरिएको स्थानीय गीता कोइरालाले बताइन् ।

यता गाउँलेले उजुरी दिएकी महिलाले भने आफू बलात्कारबाट बारम्बार पीडित भएको बताएकी छन् । ३६ वर्षीया ती महिलासहित इनरुवा घर भई विराटनगरमा बस्ने सन्तोष मेहता लगायतविरुद्ध मोरङ प्रहरीले २०७५ कात्तिक १५ गते जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । जबरजस्ती करणी मुद्दामा बास्तोलालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ हालय साे मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेकाे छ ।

बास्तोलाबाट पीडित भनिएकी महिलाले पुनः २०७६ फागुन ३ गते बलात्कार गरेकोभन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएकी छन् । प्रहरीले असार ३१ गते पक्राउ गर्दै विराटनगर महानगरपालिका–१२ बखरी घर भएका श्रेष्ठलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । श्रेष्ठ परिवारले भने ती महिलाले पटक–पटक पैसाको ‘बार्गेनिङ’ गरेको र नदिएपछि जबरजस्ती करणीको मुद्दा हालेको दाबी गर्दै अाइरहेकाे छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार जबरजस्ती करणीकी प्रतिवादी बनाइएकी महिला पछिल्लो दुईवटा घटनामा बलात्कार पीडितका रुपमा प्रस्तुत भएको  जनाएका छन् ।

पीडित भनिएकी महिलाले भनिन्, ‘कुनै बार्गेनिङ गरेको छैन’

बलात्कारबाट पीडित भनिएकी महिलाले कुनै बार्गेनिङ नगरेको बताउछिन् । आफू धेरै ठूलो अन्यायमा परेका कारण कानुनी लडाइँमा जानु परेको बताएकी छन् । ‘कुनै महिला पीडित भएँ भन्दै अदालतमा त्यत्तिकै जाँदैनन्,’ उनले भनिन्, ‘पूरै इज्जत र अस्मिता दाउमा राखेर जोखिम उठाउँदै कानुनी उपचारका लागि पुग्नु पर्ने अवस्था आयो ।’

उनले कुनै पनि झुटा मुद्दा कसैलाई नलगाएको बताउँदै जतिसुकै षडयन्त्र गरे पनि न्याय नमर्ने दाबी गरिन् । पीडक भनिएका नयन श्रेष्ठले आफूसँग ऋण लिएको र त्यही पैसा फिर्ता लिने क्रममा बैंकिङ कसुरमा अगाडि बढ्न खोज्दा प्रहरीले मिलापत्र गराउँदै आफ्नो पैसा फिर्ता दिलाएको विषयलाई बार्गेनिङसँग जोडिएको उनले बताइन् । जघन्य अपराधमा संलग्नलाई कारबाही हुनु पर्ने माग राख्दै उनले अनर्गल हल्ला बाहिर ल्याएको विषयमा धेरै दुःख लागेको उनकाे भनाइ छ ।

‘पटक–पटक गरेर पाँच लाख लिएको भनेर अफवाह फैल्याएर मुद्दालाई कमजोर बनाउँदै पीडकलाई उन्मुक्ती दिने खेल भयो,’ ती महिलाले भनिन्, ‘प्रमाणित नहुने यस्तो आधारहीन कुरा गर्ने काम भए पनि न्यायलाई पैसासँग तुलना गर्न सकिँदैन ।’ यस्ता आफूविरुद्ध उजुरी दिएर मुद्दालाई कमजोर बनाउन सबै गाउँले लागेको उनको गुनासो छ ।

याे पनि पढ्नुहाेस्

सहमतिमा सम्पर्क : विवादपछि बलात्कार

तपाईको प्रतिक्रिया