विराटनगरमा कोरोनाका कारण थप एक पुरुषको मृत्यु

विराटनगर / विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण शुक्रबार थप एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको बिहान ९ः१५ बजे कोशी अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । पीसीआर रिपोर्ट दिउँसो ३ बजे पोजेटिभ आएपछि कोरोना भाइरसकै कारण मृत्यु भएको पत्ता लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।

उनलाई उपचारका लागि बिहान अस्पताल ल्याइएको थियो । उनको शव आइसोलेसनमै राखिएको र व्यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाइने दासले बताए । मृतकमा एक सतादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए । स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले निमोनिया हो भन्दै बाहिरकै निजी स्वास्थ्य संस्थामा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै कोशी ल्याइएको पाइएको मेसु दासको भनाइ छ ।

तपाईको प्रतिक्रिया