विराटनगरकी ९० वर्षीया बृद्धाले जितिन् कोरोना

विराटनगर /  प्रदेश १ मा ९० वर्षीया वृद्धासहित ५६ जना कोरोनाभाइरस कोभिड १९ संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना र सुन्दरहरैंचा नगरपालिकाको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना संक्रमित बुधबार डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । डिस्चार्ज हुने क्रममा विराटनगर वडा नम्बर ६ की ९० वर्षीय बृद्धा रहेकीछिन् ।

कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार ९० वर्षीया वृद्धामा पार्किन्सन, उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो । संक्रमणसँगै अस्पतालमा भर्ना भएको ११ औं दिनमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको डा. सिग्देलले बताए । बुधबार डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका समान ६, धनकुटा, उदयपुर र ते¥हथुमका समान एक जना रहेको सिग्देलले पूर्वेली न्यूजलाइ जानकारी दिए ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ । अर्कोतर्फ, बुधबार नै प्रदेशमा ५ महिला र १३ पुरुष गरेर १८ जना नयाँ संक्रमित थप भएकाछन् । संक्रमितमध्ये विराटनगर महानगरपालिकामा चार जना महिला र छ जना पुरुष रहेकाछन्। त्यसैगरि, मोरङको सुनवर्षी नगरपालिकाबाट ३ र धनपालथान गाँउपालिकाबाट १ जना पुरुष रहेकाछन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा १ जना पुरुषमा पीसीआर परीक्षण पोजेटिभ आएको जनाएको मन्त्रालयले इलामको इलाम नगरपालिका र सूर्योदय नगरपालिकाबाट समान १ जना पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिकामा १ महिलामा समेत संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बुधबार छ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया