पूरै अस्पताल डिसइन्फेक्ट गरी आजबाट विराट नर्सिङ होम एवं विराटनगर अस्पताल सञ्चालनमा

विराटनगर / आन्तरिक व्यवस्थापनसँग जोडिएका चिकित्सकलाई कोरोना देखिएपछि सिल गरिएको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको सेवा सोमबार (आज) बिहानबाट सञ्चालनमा ल्याइएको छ । अस्पतालले आकस्मिक सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । ओपीडी (बहिरंग) सेवा भने हाललाई बन्द नै रहने भएको छ । अस्पतालको आन्तरिक व्यवस्थापनसँग जोडिएका चिकित्सकमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरेर सबै सेवा बन्द गरिएको थियो । ती चिकित्सकको अहिले काठमाडौंमा उपचार भइरहेको छ । परीक्षणका लागि पठाएको र संक्रमण पुष्टि भए पश्चात अस्पताल सिल गरिएको थियो ।

अस्पताल सिल गर्दै त्यहाँका अरु चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा उनीहरुसँग सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरियो । परीक्षणका क्रममा विराटसँग आवद्ध १३ जनामा हालसम्म संक्रमण पुष्टि भइसकेको छ । सिल गरिएको ११ दिनपछि आकस्मिक सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले बताए । उनले आकस्मिक बाहेकका अन्य सेवा भने तत्कालका लागि बन्दनै रहने जनाए ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याइसकिएका कारण अस्पतालको आकस्मिक सेवा सञ्चालन गर्न दिइएको बताए । अनुगमनका क्रममा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाइएको पाइएपछि आकस्मिक सेवा सञ्चालनको अनुमति दिइएको उनको भनाइ छ ।

‘आकस्मिक सेवा अति आवश्यक सेवा हो,’ कार्कीले भने, ‘स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गरिसकेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता अस्पतालले जनाएका कारण त्यहाँबाट अन्यत्र संक्रमण फैलन सक्ने अवस्था नभएपछि सञ्चालन गर्न दिइएको हो ।’ स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डका आधारमा अस्पताल सञ्चालनका लागि केही सर्त राखिएको र ती सर्त पूरा गर्ने भएपछि प्रक्रिया पूरा गरेर तत्काललाई सेवा सुुचारु गर्ने वातावरण बनाइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया