प्रेम सञ्जेल आक्रमण : घटना बङ्ग्याउन एनजीओको चलखेल, आक्रमण गर्नेविरुद्ध मुद्दा

विराटनगर / आफ्नै कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेललाई कुटपिट गरेपछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा करारमा कार्यरत दुई महिला कर्मचारीले सञ्जेलमाथि दुरव्यवहारको आरोप लगाएका छन् । आक्रमण गरेको घटनाबाट बच्न उनीहरुले सञ्जेलले यौन हिंसा गर्ने मनसायले बारम्बार आफूहरुमाथि दुरव्यवहार गर्ने गरेको आरोप लगाएको प्रहरीको भनाइ छ । नेपाल सरकारका उप–सचिव सञ्जेल भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका कर्मचारी हुन् । आफू घुस नखाने र अरुलाई पनि घुस खान नदिने तथा भ्रष्टाचार गर्नेलाई देखीनसक्ने सरकारी कर्मचारीका रुपमा अगाडि आएका उनी आफ्नो त्यही स्वभावका कारण सबैको प्रशंसाका पात्र बनेका छन् ।

तर श्रम तथा रोजगार कार्यालयका प्रमुख रहेका उनीमाथि शनिबार बिहान आफ्नै कार्यकक्षमा करारमा काम गर्दै आएका दुई महिला कर्मचारीले आक्रमण गरेका छन् । सञ्जेलमाथि पूर्व योजनाअनुसार षडयन्त्रपूर्वक र नियोजित रुपमा आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आक्रमणमा संलग्न कार्यालय सहयोगी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)विरुद्ध प्रहरीले आइतबार अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले कारबाही अघि बढाइरहँदा उक्त घटनालाई अन्यत्र मोड्ने र घटनामा संलग्नलाई उन्मुक्ती दिने हिसाबमा एनजीओ (गैर सरकारी संस्था)ले चलखेल बढाएका छन् । कुटपिटमा संलग्नलाई नै सञ्जेल विरुद्ध जाहेरी दिन उक्साएको जानकारी प्रहरीले दिएको छ ।
ओरेक नेपाल विराटनगरका प्रमुख दीपक सेन्च्यूरी लगायत केही एनजीओकर्मी शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेर सञ्जेलविरुद्ध कारबाही गर्नु पर्छ भनेर एक हिसाबले प्रहरीलाई दबाब दिएको बुझिएको छ । एनजीओकर्मीले घटनामा पीडित बनेका सञ्जेलमाथि कारबाही गरेर पीडकहरुलाई भने उन्मुक्ती दिलाउने हिसाबले शंकास्पद गतिविधी गरेको प्रहरी स्रोतको भनाइ छ ।

विभिन्न खाले कुरा आएपछि प्रहरीले घटनाका विषयलाई लिएर लामो समयसम्म दुई पक्षबीच छलफल चलाएको थियो । शनिबारराति १० बजेसम्म सञ्जेल र कुटपिट गर्ने पक्षबीच छलफल चलाएको प्रहरी अन्ततः आक्रमणमा संलग्नविरुद्ध कारबाही अघि बढाउने निस्कर्षमा पुगेको हो । आक्रमण गर्नेहरुले एनजीओको उक्साहटमा लागेर सञ्जेलविरुद्ध दुरव्यवहारको जाहेरी लिएर आए पनि घटनाको वास्तविकताभन्दा बाहिर जान नसकिने भन्दै प्रहरीले दर्ता गर्न मानेन । कतिपय यस्तै घटनामा पीडितलाई थप पीडा दिने र पीडकलाई उन्मुक्ती दिने हिसाबको चलखेल एनजीओका नाममा हुने गरेको प्रहरीको भनाइ छ । एनजीओकर्मीले कानुनी कारबाहीमा जानका लागि नै अलमल हुने गरी पटक–पटक अनआवश्यक दबाब दिने तथा गलत तरिकाले भूमिका खेल्ने गरेको प्रहरीका एक अधिकृतको भनाइ छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले वास्तविकताभन्दा बाहिर गएर कुनै पनि घटनाको अनुसन्धान बढाउन नसकिने बताए । उनले यथार्थभन्दा अलग हिसाबको जाहेरी घटनामा संलग्नहरुबाटै आएका कारण दर्ता गर्न नसकिएको र कार्यालय प्रमुखलाई कुटपिट गर्ने महिला कर्मचारीविरुद्ध कारबाही अघि बढाइएको जानकारी दिए ।

कुटपिटबाट आफूलाई लागेको चोट देखाउँदै उप–सचिव प्रेमप्रसाद सञ्जेल ।

महिला कर्मचारीले सञ्जेलले आफूहरुमाथि बारम्बार दुरव्यवहार गर्ने गरेका कारण आक्रमण गर्नु परेको बताए पनि त्यस अघिसम्म कारबाहीका लागि सम्बन्धित निकायमा आएको नपाइएपछि प्रहरी घटनामा सञ्जेलनै पीडित बनेको निस्कर्षमा पुगेको हो । कानुन हातमा लिएर कुटपिट गरेपछि कारबाहीबाट बच्नका लागि महिला कर्मचारीले सञ्जेलमाथि गलत आरोप लगाएको डीएसपी राईले बताए । ‘सञ्जेलले कुनै खाले दुरव्यवहार गरेको भए न्यायका लागि आएको भए प्रहरीले वास्तविकता बुझ्दै घटनाको अनुसन्धान गरेर यथार्थ पत्ता लगाउने थियो,’ उनले भने, ‘तर आक्रमण गरिसकेपछि अहिले हामीमाथि दुरव्यवहार भयो भनेर कारबाहीबाट उम्कन खोज्नेको देखिन्छ ।’ राईकाअनुसार घटनाको प्रकृति हेर्दा पूर्व योजनाअनुरुप षडयन्त्रपूर्वक ढंगले आक्रमण गरेको देखिन्छ । सञ्जेलमाथि दुवै जनाले टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेम प्लेट, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ । कुटपिटबाट सञ्जेलको निधार, ओठ, हात, औंला लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

महिला कर्मचारीहरुले कार्यालयको काममा अनआवश्यक हिसाबले दबाब र दुःख दिने, आफूहरुमाथि दुरव्यवहार गर्ने, गालीगलौज गर्ने, सुरक्षा जिम्मेवारी नै नदिएका सामान हराएको विषयमा प्रश्न उठाउने र मानसिक तनाव दिने गरेको आरोप सञ्जेलमाथि लगाएका छन् । घटना गराउनुअघि महिला कर्मचारीले सञ्जेललाई कुट्नलाई बनाएको योजनाका बारेमा पनि प्रहरीले जानकारी पाएको छ । ‘दुरव्यवहार भएको भए कारबाहीका लागि महिला कर्मचारीलाई कानुनी बाटो थियो,’ डीएसपी राईले भने, ‘तर कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आफू बच्नलाई आरोप लगाएको देखियो ।’काम नगरेको भन्दै सञ्जेलले शुक्रबार कामबाट निकालिदिएका करारका नायव सुब्बा निर्मलकुमार दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) कोबहिनी ज्वाई हुन् । केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो । कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए ।

आफूहरुलाई धेरै ड्युटी लगाएको र आफन्तलाई पनि जागिरबाट निकालिदिएको रिसमा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।सञ्जेलसँग मिटङ भन्दै उनलाई सँगै गाडीमा लिएर आएका चालक निरज भट्टराईलाई बाहिर निकाल्दै दुवै जना मिलेर ढोकाको चुक्कुल लगाएर कार्यकक्षमा आक्रमण गरिएको प्रहरीले जनाएको छ । शनिबार सार्वजनिक विदाका दिन कार्यालय नआउने मनस्थिति बनाएर घरमै बसेका सञ्जेललाई कार्यालयको कामका लागि भन्दै महिला कर्मचारीले नै बोलाएर आक्रमण गरेको देखिएको डीएसपी राईले बताए । उनकाअनुसार आक्रमण भइरहँदा छुट्याउन पुगेका प्रत्यक्षदर्शी र प्रहरीले पनि घटनामा सञ्जेलको दोष नदेखिएको बताएका छन् । घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीले कार्यालय प्रवेश गर्नु अघिको महिला कर्मचारीको गतिविधीले पनि सञ्जेलमाथि आक्रमणको योजना बनाएको प्रष्ट हुने बताए । ‘तत्काल छुट्याउन नपुगेको भए अप्रिय घटना हुने थियो,’ उनले भने, ‘सञ्जेल आफूले कुटाई खाइरहे पनि हात फर्काएको पाइएन ।’ सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध कडा रुपमा उत्रदै आएका उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो । तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै पुस ५ गते उनको सरुवा सरकारले व्यावसायिक सीप तथा तालीम प्रतिष्ठानमा इटहरी ग¥यो ।

उपसचिव सञ्जेलले आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए । भ्रष्टाचारविरुद्धमा निक्कै आक्रमण हुने उनी आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँछन् । उनले विदेशमा समस्यामा परेकाको उद्धारमा सहयोग गर्ने, गैरकानुनी रुपमा विदेश पठाउनेलाई कारबाही गर्ने, कामदारलाई शोषण गर्ने उद्योग, कलकारखाना, होटल लगायतलाई कारबाही गर्ने गरेका थिए । स्रोतकाअनुसार आफ्नो रिफारिस नमान्ने गरेको भन्दै उनीसँग उद्योग व्यवसायी, कर्मचारीका नेतादेखि राजनैतिक दलका नेताहरु उनीसँग असन्तुष्ट बनेका थिए ।

श्रम कार्यालयबाट उनको सरुवाका लागि निक्कै ठूलो चलखेल पनि भए । तर सफल हुन नसकेपछि महिला कर्मचारीलाई प्रयोग गरेर श्रम कार्यालयबाट हटाउने हिसाबमा योजना बनाएरै आक्रमण गरेको देखिएको भन्दै प्रहरीले यस विषयमा थप अनुसन्धान गर्ने काम भइरहेको जनाएको छ । अनियमितता र भ्रष्टाचारका सवालमा निक्कै खरो बनेर उत्रने सञ्जेल सरकारी कार्यालयमा काम गर्दा हुने ढिलासुस्तीको पनि विरोधी हुन् । काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन् । ओरेक नेपालका प्रमुख सेन्च्यूरीले भने सञ्जेलले महिला कर्मचारीमाथि दुरव्यवहार गर्ने गरेको गुनासोका आधारमा आफू प्रहरी कार्यालय पुगेको दाबी गरेका छन् । ‘दुरव्यवहार भयो भन्दै सहयोग माग्न हामीसँग आएपछि पुगेका हौं,’ उनले भने, ‘प्रहरी कार्यालयमा पुगेर कुनै पनि दबाब दिइएको छैन ।’ गल्ती पुरुष वा महिला जसले गरे पनि कारबाही हुनु पर्ने पक्षमा आफूहरु रहेको बताउँदै सेन्च्यूरीले कसैले पोखेको पीडामाा समन्वय गर्न मात्रै प्रहरी कार्यालयमा पुगेको दाबी गरे ।

कुटपिट गर्नेहरु जागिरबाट निकालिए

पसचिवसञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने दुव जना महिला कर्मचारीलाई कामबाट आइतबार हटाइदिएका छन् । घटनाका विषयलाई लिएर सञ्जेलले ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराउन खोजेका थिए । तर प्रमाणित हुन गाह्रो पर्ने र मुद्दा स्थापित नहुने भन्दै प्रहरीले लिन नमानेपछि अभद्र व्यावहारमा जाहेरी दर्ता गराए ।

कुटपिटमा संलग्न महिला कर्मचारीहरु


प्रहरीका एक अनुसन्धान अधिकृतले आक्रमणको विषयलाई लिएर अनुसन्धानबाट थप कुरा खुल्दै गएमा अरु कारबाही अघि बढाउन सकिने बाटो खुल्ला रहेको बताए ।

 

तपाईको प्रतिक्रिया