नाबालकद्धारा बन्चरो प्रहार गरेर बुवाको हत्या

विराटनगर / बन्चरो प्रहार गरेर मोरङको जहदा गाउँपालिका–५ मा नाबालक छोराले बुवाको हत्या गरेको घटना बाहिर आएको छ । पारिवारिक विवादका क्रमममा १५ वर्षीय छोराले बुवा ४० वर्षीय विर्जु टुडुको हत्या गरेका हुन् । शनिबार बिहान छोराले टाउकोमा बन्चरो प्रहार गरेर शनिबार बुवालाई घाइते बनाएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले बताए । त्यसपछि घाइते भएका विर्जुलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउने पैसा नभएपछि गम्भीर अवस्थाका उनलाई आइतबार फर्काएर घरमै लगिएको थियो । घरमै सोमबार उनको मृत्यु भएको एसपी खड्काले बताए । टाउकोमा चोट देखेपछि छिमेकीले मृत्यु नभइकन हत्या भएको हुन सक्ने आशंका गरेर प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शव घरबाटै उठाएर पोस्टमार्टमका लागि कोसी अस्पताल ल्यायो । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

बाबुको मृत्यु भएपछि फरार भएका छोरालाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेका नाबालकले आमालाई सधैं कुटपिट गर्ने र दुःख दिने गरेकाले बाबुलाई बन्चरोले हानेको प्रहरीलाई बताएका छन् । एसपी खड्काले पूर्वेली न्यूजलाइ बताए अनुसार बाबुको हत्यामा नाबालकको संलग्नता रहेको खुलेपछि घटनाको अनुसन्धान गम्भीर रुपमा अघि बढाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…