मुंग्री माछा खानेहरु होशियार ! भारतमा प्रतिबन्धित याे माछाले निम्त्याउन सक्नेछ क्यान्सर

इटहरी / माछा मांसाहारी व्याक्तिका लागि राम्राे खानाकाे रूपमा लिइन्छ । खाद्यविज्ञहरुका अनुसार माछाको शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ । माछाकाे प्रयाेग विभिन्न राेगका लागि लाभदायक भएकाे मानिन्छ । तर बजारमा पाइने सबै प्रजातिका माछा स्वास्थ्यकाे दृष्टिकाेणले फाइलाजनक हुदैनन् । थाइ हाइब्रिड मुंग्री माछाले स्वास्थ्यलाई असर गर्ने भन्दै भारत स्थित महाराष्ट्र सरकारले प्रतिबन्ध गरेकाे छ । मुंग्री माछा सेवन गर्दा क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरू निम्त्याउनुका साथै यसले पर्यावरणलाइ असर गर्ने भन्दै प्रतिबन्ध गरिएकाे भारतिय संचारमाध्यमहरूले जनाएका छन् ।

बिज्ञहरूका अनुसार यस प्रजातिकाे माछा अत्यधिक मांसाहारी हुने र यसले पोखरीमा भएकाे अन्य सबै प्रजातिका माछाहरू खाने गर्दछ । व्यापारीहरुले तिनलाई छिटो हुर्काउन सिनो र बोसो दिने गरेका छन् । स्थानीयले छुनसमेत अयोग्य ठानेका ती माछा हामी नेपालीले निर्धक्क खाइरहेका छौं । स्रोतका अनुसार नेपालमा पालिने मुंग्री माछा हुर्काउन पनि फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । जल प्रदुषण हुनुका साथै माछामा अत्याधिक मात्रामा हेभि मेटल समेत पाइने गर्दछ । जसका कारण क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरू निम्तिने गर्दछ ।

भारतमा प्रतिबन्ध लगाइएकाे माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपाली बजारमा छ्याप्तछ्याप्ती भेटिने गरेका छन् । जिउँदो बेचिने मुंग्री माछा भने बंगाल र बिहारबाट कोशी ब्यारेज हुँदै बिना चेकजाच अवैध बटाे हुदै नेपाली बजारमा भित्रिने गरेकाे पाइन्छ । नेपाली किसानको उत्पादन भन्दै बेच्ने गरिएका मुग्री माछा पनि छिटो उत्पादनका लागि सिनो, भैसीको बोसो, मरेका कुखुरा , कुखुराका अन्द्राभुडी, अखाद्य केमिकल आदि मिसिएको फोहोर पानीमा उत्पादन गर्ने गरेको पाइएको छ । माछा व्यवसायसँग सम्बद्ध स्रोत भन्छ, “आन्ध्रमा त माछा हुर्काउन प्रयोग गरिने दाना पनि अखाद्य प्रयोग हुने गर्दछ ।”

विज्ञहरुका अनुसार माछाको शरीरमा प्रोटिनको मात्रा बढी हुने भएकाले मरेको आधा घन्टा भित्र प्रशोधन गरेर माइनस ३५ डिग्रीमा राखि फ्रोजन गरिएन भने माछा कुहिन शुरु हुन्छ । त्यसैले आन्ध्र प्रदेशका माछा उत्पादकहरुले माछामा राखिने बरफ बनाउँदै ५ प्रतिशत फर्मालिनको झोल मिसाउने गर्दछन् । “फर्मालिन मिसिएको आइसमा नराख्ने हो भने ४-५ दिनको बाटो पार गरेर नेपालका बिभिन्न सहरहरूमा माछा आइपुग्नै नसक्ने विज्ञहरु बताउछन् ।

यति लामो बाटो पार गरेर नेपालका बिभिन्न बजारमा आइपुगेको माछा उपभोक्ताको भान्सामा पुग्दा कम्तीमा पनि १०/१५ दिन पुरानो भइसकेको हुन्छ । यद्यपि ‘ताजा’जस्तो देखिन्छ । यसको मूलकारण ‘फर्मालिन’को प्रयोग नै हो । अझ माछा ताजा राख्न प्रयोग गरिने बरफ पनि प्रदूषित हुने गरेको भनाइ जानकारहरुको छ । हामी नेपाली उपभोक्ता भने विषादिका कारण कुहिन नसकेको, फोहाेरी बरफमा राखिएको माछा निर्धक्क खाइरहेका छौं ।

याे प्रजातिकाे माछाकाे कारण मानव स्वास्थ्यमा कस्ताे असर गर्छ भन्ने बिषयमा नेपालले समेत अध्ययन गर्न आवश्यक छ । माछा पालनमा नेपाल आत्मनिर्भर भइसकेकाे अवस्थामा भारतबाट आयात हुने यस्ता प्रजातीका माछा तथा माछाका भुरा आयातमा प्रतिबन्ध लगाउन जुरूरी देखिन्छ । साथै नेपाली कृषकहरूले मुग्री माछा छिटो उत्पादनका लागि सिनो, भैसीको बोसो, मरेका कुखुरा, कुखुराका अन्द्राभुडी, अखाद्य केमिकल आदि मिसिएको फोहोर पानीमा उत्पादन गर्ने गरेको तर्फ सरकारले नियन्त्रण एव्ं जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने देखिन्छ । यसतर्फ सरकारी निकायको ध्यान गएको देखिँदैन । साथै नेपालमा उपभोक्तालाई यसले स्वास्थ्यमा पार्ने असर तथा हानिकारक प्रभावहरूको बारेमा सूचित गर्न आवश्यक छ । एजेन्सी

तपाईको प्रतिक्रिया

Loading…