तस्करीको औषधि र मास्क बरामद

माेरङ / विराटनगर महानगरपालिका–१६ बाट प्रहरीले ठूलो परिणाममा तस्करीको औषधि र मास्क बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानी र क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले छापा मारेर सीता तामाङको खाली घरमा बाहिरबाट ताला लगाउँदै लुकाएर राखेको अवस्थामा औषधि र कपडाको मास्क बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले औषधि भारतबाट नेपालमा र मास्क नेपालबाट भारततर्फ तस्करी हुने गरेको पाइएको बताए । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि ‘लकडाउन’ गरेर नेपाल–भारत आवतजावतम रोक लगाइएको छ ।

तर यस्तो अवस्थामा भन्सार छली गर्दै औषधि र मास्कको तस्करी भइरहेको पाइएको छ । प्रहरी निरीक्षक थापाले सीमा क्षेत्रमा मानिसको आवतजावत रोक्न खटिएका सुरक्षाकर्मीलाई छल्दै तस्करी हुने गरेको बताए । बरामद भएको औषधि र मास्क आठ लाख २८ हजार नौ सय ९५ रुपैयाँ मूल्य बराबरको रहेको जानकारी थापाले दिए । औषधिमा बढी मात्रामा इन्जेक्सन आइटम छन् । नौ बोरा मास्क बरामद भएको छ ।

प्रहरीले भारतबाट अवैध रुपमा तस्करले ल्याएर औषधि विराटनगरकै अस्पताल र फार्मेसीहरुमा बिक्री गर्ने गरेको हुन सक्ने बताएको छ । सीमावर्ती भारतीय बजारमा अभाव रहेसँगै सहज रुपमा नपाइने भएकाले मास्क भने नेपालबाट भारततिर तस्करी हुने गरेको प्रहरीको भनाइ छ । बरामद भएका औषधिमा टाइजेबेस्ट, बक्सल्टन, ह्युमेन रेविज इमिनोग्लोवुलिन, भासपे्रसन इन्जेक्सन, ल्याबेटालोल इन्जेक्सन, म्यारोपेनेन इन्जेक्सन छन् । औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले प्रहरीले बरामद गरेका औषधि शरीर भित्र हुने संक्रमण रोक्न तथा मुटुको समस्या भएका बिरामीले र बच्चा जन्माउने बेलामा प्रशव पीडा भएका महिलाहरुमा प्रयोग गर्न मिल्ने बताए । उनले कतिपय औषधि भन्सार तिरेर ल्याउन पाइने बताए ।

तपाईको प्रतिक्रिया

Loading…