बालसुधार गृहमा सजाय भोगिरहेका युवाको मृत्यु

माेरङ / विराटनगरस्थित बालसुधार गृहमा कैद सजाय भोगिरहेका एक युवको आइतबार बिहान मृत्यु भएको छ । ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ का १७ वर्षीय विनम सावाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । राईका अनुसार विनम कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका युवक हुन् । उनी केही समयदेखि मृगौलाको समस्याबाट पीडित रहेको पाइएको डीएसपी राईले बताए ।

झाडापखाला हुनुका साथै वान्ता भएपछि उनलाई शनिबार विराटनगरको नोबेल मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि विनमको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको जानकारी चिकित्सकले गराएको राईको भनाइ छ । बालसुधार गृहमा उनी २०७६ पुस २६ गतेबाट कैद सजाय भुक्तान गरिरहेका थिए । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत ताप्लेजुङले उनी विरुद्ध १६ वर्ष कैद सजायको फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…