सांसद खातुन संसद भवन पस्दा पनि प्रहरी बेखवर

माेरङ / अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको विषयलाई लिएर फरार बनेकी प्रदेश १ की सांसद गुलेफुन खातुन संसद भवन पस्दा पनि प्रहरीले पक्राउ नगरेको पाइएको छ । प्रदेश १ को बुधबारबाट सुरु भएको बजेट अधिवेशनमा उपस्थित भएर बाहिरिँदा समेत प्रहरी बेखवर रहयो । प्रहरी सुरक्षा घेरामा रहेको संसद भवन भित्र अदालतले दोषी ठहर गरेको सांसद पस्ने र निस्कने गर्दा पनि थाहा नपाएको जानकारी दिएपछि प्रहरीको काम कारबाही नै शंकास्पद बनेको स्रोतको भनाइ छ ।

जिल्ला अदालत मोरङले गरेको फैसला सदर गर्दै उच्च अदालत विराटनगरले पनि कैद सजायको फैसला सुनाएपछि खातुन २०७६ पुसदेखि फरार बनेकी थिइन् । उनी यस अघिका प्रदेश १ का २२ वटा संसद बैठकमा अनउपस्थित रहिन् । तर बुधबारबाट सुरु भएको बजेट अधिवेशनमा भने उपस्थित भएको प्रदेश १ संसद सचिवालयका सचिव गोपाल पराजुलीले पुष्टि गरे ।

३ बजेबाट सुरु भएको बैठकमा उनी १५ मिनेट जति बसेको स्रोतको भनाइ छ । खातुनलाई दोषी ठहर गरेको कुनै आधिकारिक जानकारी अदालतबाट संसदमा नआएको र सम्बन्धित दलले पनि प्रमाणित नगरेका कारण उनको संसद पद यथावत रहेको पराजुलीको भनाइ छ । अदालतबाट आधिकारिक कुनै पत्र नआएसम्म खातुनलाई निलम्बन गर्न सक्ने कानुनी आधार संसदमा नहुने उनले बताए । पराजुलीले यस अघिका बैठकमा भने सभामुखलाई लिखित जानकारी गराएरै खातुन विदामा बसेको जानकारी दिए । उनकाअनुसार कोरोना भाइरस परीक्षणका लागि गरिएको सांसदको स्वाब संकलनमा खातुुनले पनि स्वाब परीक्षण गराएकी थिइन् ।

उनी तत्कालिन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी हुन् । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाकी उनले २०७४ माघ ७ गते प्रदेश १ को प्रदेशसभा सदस्यको शपथ लिएकी थिइन् । तर खातुनलाई सांसद बन्नु भन्दा आठ महिना अघिनै अदालतले फौजदारी कसुरमा दोषी ठहर गरेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले खातुन संसदमा उपस्थित भएको भन्ने जानकारी नपाएका कारण पक्राउ गर्न नसकिएको बताए । पक्राउ गर्नका लागि प्रहरीलाई केही प्राविधिक कठिनाई रहेको उनको भनाइ छ । तर अदालतबाट दोषी ठहर भइसकेका कारण पक्राउका लागि अदालतसँग समन्वय गरेर काम अघि बढाइएको राईको भनाइ छ ।

यस्तो थियो घटनाको नालीबेली

मोरङको तत्कालीन कदमाहा गाविस–२ मा ससुरा स्वर्गीय शेख धाइका मियाँको नाममा रहेको मोहीयानी हक हस्तान्तरणका लागि खातुनले चलखेल गरेकी थिइन् । मधुसूदनराज पाण्डेको कित्ता नम्बर १०६, २५५ र सीता जोशी पाण्डेको कित्ता नम्बर ११० भएको तीन बिघा १० कट्ठा जग्गा नामसारी गर्न उनले सरकारी छाप र दस्तखत किर्ते गरेर गाविसको सिफारिस कागज बनाएकी थिइन् । ससुराको ०६३ माघ २४ मा र सासू खैरुन खातुनको ०६५ मंसिर १२ मा मृत्यु भएको थियो ।

धाइकाका जेठा छोरा शेख दिलबार मियाँ र कान्छा शेख शिलबार मियाँ हुन् । ससुराको मृत्युपछि मोहीयानी जग्गा जेठाजु दिलबारलाई नदिइ आफ्नो एकलौटी बनाउन खातुनले पति शिलबार र अन्य दुई कर्मचारी प्रयोग गर्दै गाविसको लेटर प्याड, छाप र बिदामा रहेका सचिवको हस्ताक्षर किर्ते गरेकी थिइन् । ०७१ माघ २१ र ०७१ चैत ४ गते अलगअलग मितिमा किर्ते सिफारिस बनाएर जग्गा आफ्नो नाममा नामसारी गर्न उनले भूमिसुधार कार्यालयमा निवेदन दिएकी थिइन् । मोहीयानी एकलौटी बनाउन गरिएको किर्तेमा खातुन, उनका पति शिलबर, गाविसका खरिदार विजयकुमार कामत र पियन दीपचन्द्रकुमार मण्डलको संलग्नता देखिएको थियो ।

हस्ताक्षर र छाप किर्ते गरेको खुलेपछि ०७३ जेठ २६ गते उनीहरूविरुद्ध गाविसले जाहेरी दिएको थियो । प्रहरीले पतिसहित खातुनलाई ०७३ असार ४ मा पक्राउ गरेर २५ दिन हिरासतमा राखी अनुसन्धान गरेको थियो । जिल्ला अदालतले उनीहरूलाई असार २९ गते जनही १० हजार धरौटीमा छाड्न आदेश दियो । फरार दुई कर्मचारी कामत र मण्डल असार ३१ गते आफैं उपस्थित भएपछि अदालतले उनीहरूलाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

अदालतले २०७४ वैशाख ३१ गते खातुन र उनका पतिलाई जनही एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनायो । सरकारी कर्मचारी भएकाले कामत र मण्डललाई जनही दुई वर्ष थप गर्दै तीन÷तीन वर्ष कैदको फैसला सुनाएको थियो । त्यतिबेला पनि कारागार पठाउनु पर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेन ।

खातुनले ०७४ भदौ १९ गते मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार उच्च अदालत विराटनगरमा निवेदन दिइन् । उच्चले गत पुस ६ गते शेख शिलबरलाई सफाइ दियो । खातुनसहित तीनजनाको हकमा कैदतर्फ जिल्लाकै फैसलालाई सदर गर्दै उच्चले जनही १४ हजार पाँच सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनायो । धरौटीबापतको १० हजार फिर्ता नलिएकाले अब खातुनले चार हजार पाँच सय ८३ रुपैयाँ जरिवाना बुझाउनु पर्ने हुन्छ । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा २५ दिन बिताइसकेकाले खातुनले ११ महिना पाँच दिन जेलमा बस्नु पर्ने उच्च अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…