मोरङमा धमाधम नयाँ क्वारेन्टाइन

मोरङ / कोरोना भाइरसको संक्रमण दर उच्च रहेको भारतबाट भित्रनेको संख्या बढिरहेका बेला मोरङमा धमाधम नयाँ क्वारेन्टाइन थप गरेर सञ्चालनमा ल्याउन थालिएको छ । भारत एवं अरु मुलुक र बाहिरी जिल्लाबाट भित्रने तथा कोरोनाका शंकास्पदलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । बाहिरबाट आएकालाई परीक्षण गर्दै कोरोना संक्रमण भए नभएको पुष्टि गर्न दुई साता क्वारेन्टाइनमा राख्ने गरिएको छ । मोरङमा पछिल्लो सय १८ वटा नयाँ क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । यस अघि सञ्चालन गरिएको नौसहित मोरङमा क्वारेन्टाइन संख्या २७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सबै क्वारेन्टाइनमा गरेर करिव सात सय जनालाई राख्न सकिने जनाएको छ । हालसम्म मोरङका आठ जनालाई संक्रमण देखिएको छ । ती मध्ये ३५ र ४१ वर्षका दुई पुरुष रतुवामाई नगरपालिकाभित्रका छन् । भारतसँग सीमाना जोडिएको रतुवामाईका दुवै जना भारतबाटै आएका हुन् । चार जनामा जिल्ला भित्रै र अरु चार जनामा जिल्ला बाहिर रहेको अवस्थामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । संक्रमित मध्ये मोरङका तीन जनालाई उदयपुरमा र एक जनालाई धनकुटामा संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले भारत लगायत अरु मुलुक र नेपालका विभिन्न जिल्लाबाट भित्रिएकालाई नयाँ क्वारेन्टाइन बनाएर राख्न थालिएको बताए । भित्रनेको दर उच्च रहेकाले राख्नका लागि क्वारेन्टाइन थप गर्दै लगिएको उनको भनाइ छ । भारतले आन्तरिक रुपमा सवारी साधन र रेल सञ्चालन गरेसँगै धमाधम नेपाल भित्रनेहरुको संख्या बढेको छ । प्रदेश १ को कोभिड–१९ अस्पतालका व्यवस्थापक समेत रहेका बस्नेतले संक्रमितको सम्पर्कमा रहेका एवं उच्च जोखिम भएको तथा बाहिरी मुलुक र जिल्लाबाट यात्रा गरेर आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको बताए ।

प्रदेश १ सरकारले नेपाली सेनासँग समन्वय गरेर टाँडीमा सञ्चालन गरेको दुई सय क्षमताको क्वारेन्टाइन अहिले सुन्दरहरैंचाको पूर्वाञ्चल विश्व विद्यालयबाट सञ्चालित छ । त्यस बाहेक यस अघि विराटनगरको घिनाघाट प्राथमिक स्वास्थ्य केन्द्र, जहदाको दुर्गा माध्यमिक विद्यालय, केराबारीको प्राथमिक स्वास्थ्य केन्द्र, धनपालथानको स्वास्थ्य चौकी कर्सिया, सुनवर्षीको प्राथमिक स्वास्थ्य केन्द्र अमरदह, रंगेली अस्पताल, बूढीगंगाको मधुग्राम विद्यालय र केराबारीको कालीशक्ति गणमा क्वारेन्टाइन सञ्चालन गरिएका थिए ।

जनता क्याम्पस रंगेली, सार्वजनिक मावि जहदा, प्राथमिक स्वास्थ्य केन्द्र कानेपोखरी, नायारण मावि बूढीगंगा र रतुवामाईको आजेजिया मदर्शा, सिजुवा मावि, सौंठा मावि, स्लामिया महरुल मदर्शा, डोरिया आधारभूत विद्यालय, जनता मावि, शारदा मावि, बाबुल उलुम मदर्शा, उमरफारुक मस्जिदमा नयाँ क्वारेन्टाइन बनाएर सञ्चालनमा ल्याइएको छ । त्यस्तै राधिका मावि उर्लाबारी, पथरीशनिश्चरे बहुमुखी क्याम्पस, जनसेवा मावि कानेपोखरी, स्लामिक मदर्शा सुनवर्षी, आदर्श मावि डाइनियामा पनि नयाँ क्वारेन्टाइन बनाइएको छ ।
सुन्दरहरैंचा नगरपालिकाले एक हजार क्षमताको नयाँ क्वारेन्टाइन बनाउने तयारी थालेको छ ।

मोरङमा हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या पाँच सय ४५ छ । पहिल्यैदेखि सञ्चालन गरिएका र नयाँ बनाइएका क्वारेन्टाइनमा सोमबारसम्ममा दुई सय ७६ पुरुष र २९ महिला गरेर तीन सय पाँच जना छन् । यस अघि क्वारेन्टाइनमा बसेका मध्ये कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि दुई सय नौ पुरुष र ३१ महिला गरेर दुई सय ४० जना घर फर्किसकेका छन् ।
रतुवामाई नगरपालिकाका मेयर रविन राईले भारतबाट फर्कनेको संख्या रहेकाले क्वारेन्टाइन सञ्चालनमा जोड दिइएको बताए । क्वारेन्टाइनमा दुई साता राखिएकालाई पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा होम क्वारेन्टाइनमा बस्ने गरी विदा दिने र पोजेटिम आएमा उपचारका लागि कोभिड–१९ अस्पताल लैजाने गरिएको छ । बाहिरबाट आएकालाई ‘होल्डिङ एरिया’मा राखेर प्राथमिक स्वास्थ्य परीक्षण गर्दै थप दुई साताका लागि क्वारेन्टाइनमा बस्न पठाउने गरिएको बस्नेतले बताए । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बाहिरबाट आएकालाई ‘होल्डिङ एरिया’सम्म लैजान सुरक्षाकर्मीले मद्धत गरिरहेको बताए ।

प्रहरीकाअनुसार एक साताको अवधिमा भारतबाट एक सयको हाराहारीमा मोरङ भित्रिएका छन् । बाहिरी मुलुकबाट आएका तर क्वारेन्टाइनमा बस्न नमानेका ९५ जनालाई हालसम्म प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको जानकारी एसपी अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…